कालापानी, लिपुलेक, लिम्पियाधुरा हाम्रो हो, फिर्ता लिनेछौं, यो तथाकथित राष्ट्रवाद होइन् – प्रधानमन्त्री केपी शर्मा ओली

“तत्कालिक महत्वको, हाम्रो वाचासँग सम्बन्धित, हाम्रो नक्सासँग सम्बन्धित, हाम्रो भूमि फिर्तासँग सम्बन्धित यो विषय तत्कालिक महत्वको विषय र तत्कालका लागि जरुरी विषय हो, संविधान संशोधनको प्रस्ताव गरिमामय सदनमा आउनेछ, मैले विश्विास लिएको छु, त्यो पारित हुनेछ ।”

६ जेठ ०७७, काठमाडौं । सरकारले संविधान संशोधनको तयारी गरेको छ ।

मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रममामाथि प्रतिनिधिसभामा भइरहेको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिनेक्रममा यस्तो बताएका हुन् ।

उनले सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई समेटेर जारी गरेको नक्शालाई कानूनी मान्यता दिन सरकारले संविधान संशोधनको तयारी गरेको जानकारी दिँदै उक्त संशोधन प्रस्ताव संघीय संसदमा छिट्टै दर्ता हुने जानकारी दिए ।

“तत्कालिक महत्वको, हाम्रो वाचासँग सम्बन्धित, हाम्रो नक्सासँग सम्बन्धित, हाम्रो भूमि फिर्तासँग सम्बन्धित यो विषय तत्कालिक महत्वको विषय र तत्कालका लागि जरुरी विषय हो,” प्रधानमन्त्री ओलीले भने, “संविधान संशोधनको प्रस्ताव गरिमामय सदनमा आउनेछ, मैले विश्विास लिएको छु त्यो पारित हुनेछ ।”

उनले संविधान आवश्यकता र औचित्यका आधारमा संशोधन हुने भन्दै अन्य विषयमा पछि छलफल हुने बताए ।

“कालापानी, लिपुलेक, लिम्पियाधुरा हाम्रो हो, त्यसलाई प्राप्त गर्न कुटनीतिक प्रयास गर्नेछौं र फिर्ता लिनेछौं । त्यस भूभागलाई समेत सामेल गरेर हामी नेपालको नयाँ नक्सा तयार गर्नेछौं भनेर नीति तथा कार्यक्रममा आएको थियो,” प्रधानमन्त्रीले भने “यो कुनै चलाखीको हिसाबले तथाकथित राष्ट्रवाद देखाउनका लागि यो गरिएको होइन् । तथाकथित राष्ट्रवाद बोल्ने अभ्यासका प्रचलनहरु देखिआएको, भोगिआएको परिस्थितिमा त्यास्तो आँकलन गर्नु त्यति अस्वभाविक होइन होला तर अहिलेको सरकारको तर्फबाट म भन्न चाहन्छु यो कुनै तमासा गरिएको होइन् देखवा गरिएको होइन् । यो यर्थाथमा हाम्रो भूमि फिर्ता लिनका लागि गरिएको हो ।”

उनले नेपाली भूभाग फिर्ता लिनकै लागि सरकारले नक्सा पारित गरेको भन्दै आजभोलिमा नयाँ नक्सा प्रकाशित गरिने र यसबाट सिङ्गो राष्ट्र खुसी हुनेछ विश्वास व्यक्त गरे ।

प्रतिनिधि सभा बैठक, २०७७ जेठ ६ गते, मंगलबार

  •  
  •  
  •  
  •  
  •