सेनाले खरिद गरेको स्वास्थ्य उपकरण नेपाल आउन थाल्यो

काठमाडौं । नेपाली सेनाले चीनसँग खरिद गरेको स्वास्थ्य उपकरणहरु नेपाल आउन थालेको छ ।

मंगलबार मात्रै सेनाले नेपाल वायुसेवा निगमको जहाजमार्फत १८ दशमलब ७ टन सामान नेपाल ल्याएको छ । यस्तै तातोपानी नाकाबाट ५ वटा कन्टेनरमार्फत १ सय ७६ क्युविक मिटर सामान नेपाल ल्याएको बताइएको छ ।

सेनाले जेठ ७ गते बुधबार ७ वटा कन्टेनर र जेठ ८ गते बिहीबार ८ वटा कन्टेनर काठमाडौं आइपुग्ने बताएको छ ।

यसअघि जेठ ३ गते तातोपानी नाका हुँदै १० वटा कन्टेनरबाट २ सय ६५ क्युविक मिटर सामान नेपाल आइसकेको थियो ।

सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले स्वास्थ्य तथा औषधीजन्य उपकरणहरु नेपाल सरकारलाई हस्तान्तरण गर्दै जाने बताए ।

नेपाली सेनाले मन्त्रीपरिषद्को  चैत १६ गतेको बैठकबाट पाएको जिम्मेवारी अनुसार चीनको सरकारी स्वामित्वको चाइना सिनोफर्मा इन्टरनेशनल कम्पनीसँग १ करोड ८४ लाख ४१ हजार ७ सय ६ अमेरिकी डलर बराबरको स्वास्थ्य उपकरण खरिद गर्ने सम्झौता गरेको थियो ।

ओम्नी ग्रुपलाई दिएको ठेक्का सम्झौता रद्ध गर्दै नेपाल सरकारले जिटुजी विधिबाट स्वास्थ्य उपकरण खरिद गर्न सेनालाई जिम्मा दिएको थियो ।
  •  
  •  
  •  
  •  
  •