कोरोना संक्रमितको संख्या ४८७ पुग्यो, मन्त्रालयको विवरणमा हुँदै नभएको वडा नम्बर उल्लेख

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको संख्या ४८७ पुगेको जनाएको छ ।

शुक्रबार बिहान अद्यावधिक विवरण जारी गर्दै मन्त्रालयले संक्रमितको संख्या ४८७ पुगेको जानकारी गराएको हो ।

तर उक्त विवरण त्रूटीपूर्ण रहेको पाइएको छ । मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा शुक्रबार कोभिड १९ बाट संक्रमितहरुको अध्यावधिक सार्वजनिक गर्दै सर्लाहीको रामनगर बहुअर्वा गाउँपालिकासहित गोडैटा नगरपालिकाका ८, ९, ११, १३ र १४ वडामा सक्रमित फेला परेको उल्लेख गरेको छ । जबकि, उक्त नगरपालिकामा १२ भन्दा बढी वडा नै छैन् ।

उक्त नगरपालिकाका मेयर देवेन्द्र कुमार यादवले मन्त्रालयले कमजोरी गरेको जानकारी दिँदै यसबारे विज्ञप्ति निकाल्ने तयारी भइरहेको बताएका छन् ।

यस्तै सर्लाहीबाट सञ्चारकर्मी भक्ति रिजालले यसअघि पनि अद्यावधिक विवरणमा गल्ती गरेको स्वास्थ्य मन्त्रालयले गोडैटा नगरपालिकामा हुँदै नभएको १३ र १४ वडा नम्बर उल्लेख गरेर पुनः गल्ती गरेगरेको बताए ।

यसअघि पनि स्वास्थ्य मन्त्रालयले धनुषा र महोत्तरीको अध्यावधिक गर्दा गल्ती गरेको थियो ।

यस्तै जेठ १ गते विहान ७ः४५ बजेको अध्यावधिकमा पनि मन्त्रालयले संक्रमितको संख्या २५० भनेर जानकारी गराएको थियो । तर केही घण्टापछि नै ५ जना संक्रमित दोहोरिएको भन्दै २४५ रहेको भनेर पुनः विज्ञप्तिमार्फत स्पष्ट गरेको थियो ।

 

  •  
  •  
  •  
  •  
  •