भारत ! आफ्नै नक्सा हेर, कालीनदी कहाँ छ ?

काठमाडौं । लिम्पियाधुरासम्म नेपाल हो भन्ने प्रमाण खोज्न कहीँ जानुपर्दैन, भारतले गत २ नोभेम्वर (१६ कात्तिक) मा जारी गरेको नक्साले नै कालीनदी लिम्पियाधुराबाट आएको स्पष्ट देखाएको छ । यो नक्सा सर्भे अफ इन्डियाको वेबसाइटमा आठौँ संस्करणको रूपमा अहिले पनि छ । ६ दिनपछि ८ नोभेम्बरमा नक्सा संशोधन गरेर भारतले कालीनदी मेटाएको छ । अन्तर्रा्ष्ट्रिय सिमाना बालबालिकाले गर्ने ‘ड्रइङको प्राक्टिस’ होइन, जसलाई मन लाग्दा कोर्न र मन लाग्दा मेट्न पाइयोस् ।

२ नोभम्बर २०१९ अर्थात् १६ कात्तिक ०७६ मा भारतले जारी गरेको नक्सा । जसमा कालीनदी लेखिएको छ ।

लिम्पियाधुरासम्मको भूभाग नेपालको हो भन्ने प्रमाण खोज्न कहीँ जानुपर्दैन, भारतले गत २ नोभेम्बर (१६ कात्तिक) मा जारी गरेको नक्सा नै पर्याप्त छ । भारतले जारी गरेको राजनीतिक नक्सामा स्पष्ट रूपमा लिम्पियाधुराबाट निस्केको नदीलाई काली नदी भनिएको छ । सर्भे अफ इन्डिया (भारतीय सर्वेक्षण विभाग) बाट जारी सो राजनीतिक तथा प्रशासनिक नक्सा विभागको वेबसाइट www.surveyofindia.gov.in  मा उपलब्ध छ । भारतलाई उसैले जारी गरेको नक्सा हेर्न लगाउने हो भने उसले कालीभन्दा पूर्वको नेपाली भूभाग अनधिकृत रूपमा अतिक्रमण गरेको हो भन्ने पुष्टि हुन्छ ।

२ नोभेम्बर (१६ कात्तिक)मा भारतले जारी गरेको अंग्रेजी संस्करणको नक्सामा कालीनदी अंकित छ । तर, लगत्तै ८ नोभेम्बर (२२ कात्तिक)मा भारतले त्यही नक्सा संशोधन गरेर प्रकाशित गर्यो जसमा नदी छ, तर काली नाम हटाइएको छ । भारतले आफ्नै दस्ताबेजमा बेइमानी गरेर नेपाली भूमिमा कब्जा गर्न खोजेको छ भन्ने प्रस्टै हुन्छ ।

नेपाली भूमि समेटेर भारतले नक्सा जारी गरेपछि नेपालले तत्कालै आपत्ति जनायो । त्यसपछि भारतले ६ दिनपछि अर्थात् २२ कात्तिकमा कालीनदी मेटाएर अर्को नक्सा जारी गर्यो ।

त्यस्तै २८ फेब्रुअरी (१६ फागुन)मा हिन्दी र संस्कृत भाषाको नक्सा पनि जारी गरियो । त्यसमा पनि कालीनदीको नामै छैन ।

२८ फेब्रुअरी अर्थात् १६ फागुनमा सार्वजनिक गरेको हिन्दी भाषाको नयाँ नक्सा । जसमा पनि कालीनदी गायब पारियो ।

२८ फेब्रुअरी अर्थात् १६ फागुनमा सार्वजनिक गरेको संस्कृत भाषाको नयाँ नक्सा । जसमा पनि कालीनदी गायब पारियो ।

आफुलाई विश्व गुरु भन्ने भारतलाई थाहा हुनुपर्ने हो, अन्तर्रा्ष्ट्रिय सिमाना देखाउने नक्सा जारी गर्ने विषय बालबालिकाले ‘ड्रइङ प्राक्टिस’ होइन, जसलाई मन लाग्दा कोर्न र मन नलाग्दा मेट्न सकियोस् । तर, भारतले नयाँ नक्सा अपलोड गरे पनि २ नोभेम्बरको नक्सा अहिले पनि सर्भे अफ इन्डियाको वेबसाइटमा छ । त्यस्तै सर्भे अफ इन्डियाले २ नोभेम्बरमा अपडेट गरेको फेसबुक पेजमा पनि कालीनदीसहितको नक्सा छ ।

कालीनदी अंकित नक्सा भारतको सर्वेक्षण विभागको फेसबुक पेजमा पनि अपलोड थियो ।

कालीनदी हटाएर दोस्रो नक्सा सार्वजनिक गरेपछि त्यो नक्सा पनि भारतीय सर्वेक्षण विभागको फेसबुक पेजमा अपलोड गरियो ।

भारतका विज्ञानमन्त्री डा. हर्षवर्दनले हिन्दी र संस्कृत भाषाको नक्सा सार्वजनिक गरे । जसमा कालीनदी मेटाइएको छ ।

४ मार्च सन् १८१६ मा नेपाल र तत्कालीन इस्टइन्डिया कम्पनीबीच भएको सुगौली सन्धिको धारा ५ अनुसार काली नदीलाई सीमानदी भनिएको छ । कालीको पूर्व नेपाल र पश्चिम भारत हुने गरी अन्तर्रा्ष्ट्रिय सिमाना त्यही सन्धिका आधारमा तय भएको हो । तर, भारतले लिम्पियाधुराबाट सुरु हुने नदी सहायक नदी हो, लिपुलेक क्षेत्रबाट सुरु हुने नदी काली नदी हो भन्ने दाबी गर्र्दै आएको थियो । तर, उसलै जारी गरेको नक्सामा लिम्पियाधुराबाट आएको नदीलाई काली नदी भनिएको छ ।

त्यसो त लिम्पियाधुराबाट निस्किएको नदीलाई काली नदी भनिएको यो पहिलोपटक होइन । ऐतिहासिक नक्साहरूले पनि यही भन्दै आएका छन् । सुगौली सन्धिपछि सन् १८२७ मा सर्भे अफ इन्डियाले तयार गरेको नक्सामा पनि लिम्पियाधुराबाट बग्ने नदीलाई रिभर अफ काली भनिएको छ ।

त्यस्तै, सन् १८५६ मा सर्भे अफ इन्डियाले कलकत्ताबाट प्रकाशित गरेको नक्सामा पनि लिम्पियाधुराबाट बग्ने नदीलाई रिभर अफ काली भनिएको छ । ‘तर, ब्रिटिस अधिकारीहरूले सन् १८७९ र त्यसपछि जारी गरिएका नक्सामा भने कार्टोग्राफिक संकेत चिह्नबाट कालापानी र लिपुलेकलाई भारततर्फ पारियो,’ उनी भन्छन् । त्यही आधारमा भारतले लिम्पियाधुरादेखि कालापानीसम्मको भूभाग कब्जा गरेर आफ्नो फौजी पोस्ट स्थापना गरेको छ ।

सन् १९६२ (वि.सं. २०१९) मा चीनसँगको युद्धमा भारत काली नदी पार गरेर नेपाली भूमिमा प्रवेश गरेको हो । त्यो वेला जननिर्वा्चित प्रधानमन्त्री बिपी कोइरालालाई बलात् हटाएर राजा महेन्द्रले पञ्चायती व्यवस्था सुरु गरेको दुई वर्ष मात्र भएको थियो । उनी भारतसँग सन्तुलन मिलाउन चाहन्थे, त्यसैले प्रतिक्रिया जनाएनन् । नेपालमा रहेका भारतीय सेनाका १७ सैनिक पोस्ट ०२६ मा हटाउँदा पनि नेपालले कालापानीको सेना पठाउन सकेन । नयाँपत्रिकाडेलीमा खबर छ ।

  •  
  •  
  •  
  •  
  •