अदालतको म्याद सूचना, लिखित जवाफ इमेलबाट गर्न सकिने

११ जेठ ०७७, काठमाडौं । सर्वोच्च अदालतले इमेलबाट म्याद सूचना तथा लिखित जवाफ गर्न सकिने व्यवस्था गरेको छ ।

कोरोना भाइरस रोग (कोभिड–१९)का कारण अदालतको काम कारबाहीलाई प्रविधिमैत्री बनाउँदै इमेलबाट म्याद सूचना तथा लिखित जवाफ गर्न सकिने व्यवस्था गरेको हो ।

भीडभाड कम गर्न तथा कोरोना जोखिमबाट बच्न भौतिक दूरी कायम गर्ने उद्देश्यसहित अदालतमा स्वयं उपस्थित हुनुपर्ने बाध्यतालाई अदालतले हटाएको हो ।

बन्दाबन्दीका कारण समस्यामा पर्नसक्ने म्याद र हदम्याद गुज्रेका मुद्दाको गाँठो फुकाउन गठन भएको बृहत् पूर्ण इजलासमा पनि बहसको सट्टा बहस नोट माग गरिएको थियो ।

अदालतमा हुने सम्भावित भीडभाड कम गर्न यस्तो विधि अपनाइएको सर्वोच्च प्रशासनले जनाएको छ ।

सर्वोच्च अदालतका सहायक प्रवक्ता देवेन्द्र ढकालले बन्दाबन्दीको समय अदालतमा हुने भीड कम गर्न सम्भव भएसम्म प्रविधि प्रयोग गरिएको बताए ।

  •  
  •  
  •  
  •  
  •