कोरोना संक्रमित बढेसँगै नरैनापुरमा अनिश्चितकालीन निषेधाज्ञा जारी

१२ जेठ ०७७, नेपालगञ्ज । बाँकेको नरैनापुर गाउँपालिकामा आइतबार राति ८ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ ।

पछिल्लो तथ्याङ्कानुसार नरैनापुरमा ११४ जनामा कोरोना सङक्रमण पुष्टि भएसँगै प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जिल्ला सुरक्षा समितिको बैठकद्वारा निषेधाज्ञा जारी गरिएको जानकारी दिए ।

बैठकले निषेधाज्ञासंँगै गाउँपालिकामा नेपाली सेनासहित नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त सुरक्षाकर्मीको टुकडी परिचालन गर्ने निर्णय समेत गरेको छ ।

गाउँपालिकाले नरैनापुरमा कोरोना संक्रमण नियन्त्रणभन्दा बाहिर जान थालेपछि शनिबार जिल्ला प्रशासन कार्यालयमार्फत प्रदेश नं ५ सरकार, सङ्घीय सरकार र सरोकार निकायसँग सहयोग माग गरेको थियो ।

पछिल्लो अद्यावधिक विवरणअनुसार नरैनापुरमा एक सय १४ जनामा कोरोना सङक्रमण पुष्टि भएको छ भने तीमध्ये एकको मृत्यु भइसकेको छ ।

  •  
  •  
  •  
  •  
  •