इच्छुकको हत्या कलमको हत्या थियो : आर्दश व्यक्तिव ‘इच्छुक’प्रति हार्दिक श्रद्धाञ्जली !

१३ जेठ ०७७, काठमाडौं । आज जेठ १३ गते कृष्णसेन ‘इच्छुक’को हत्याभएको दिन । जनपक्षीय पत्रकारिताका धरोहर, नेपाली प्रगतिवादी साहित्यका आर्दश व्यक्तिव ‘इच्छुक’लाई विभिन्न संगठनले आ–आफ्नै तरिकाले स्मरण गरेका छन् ।

प्रेस संगठन नेपालले एक वक्तव्य जारी गरेर ‘इच्छुक’प्रति श्रद्धाञ्जली’ व्यक्त गरेको छ ।

“जनपक्षीय पत्रकारिताका धरोहर तथा नेपाली प्रगतिवादी साहित्यका अग्रणी र आर्दश व्यक्तिव ‘इच्छुक’प्रति हार्दिक श्रद्धाञ्जली” वक्तव्यमा भनिएको छ ।

पत्रकार तथा साहित्यकार शहीद कृष्णसेन ‘इच्छुक’ को १८औं स्मृति दिवसका अवसरमा सत्तारुढ दल निकट प्रेस संगठनका संयोजक महेश्वर दाहाल र सहसंयोजक गणेश बस्नेतले जारी गरेको वक्तव्यमा वि.सं २०१३ साल कार्तिक ३ दिने जन्मिनुभएका ‘इच्छुक’ २०५९ साल जेष्ठ ६ गते गिरफ्तार भएको र २०५९ साल जेठ १३ गते महेन्द्र पुलिस क्लबको हिरासतमा अमानवीय ढङ्गले यातना दिएर कायरतापूर्वक हत्या गरिएको उल्लेख गरिएको छ ।

यस्तै इच्छुकले जनपक्षीय पत्रकारितामार्फत् राजनीतिक परिवर्तन र सामाजिक रुपान्तरणको लागि दिएको योगदान साथै प्रगतिवादी साहित्यको माध्यमबाट प्रगतिशील चेतना निर्माण, समाज परिवर्तन र रुपान्तरणका लागि पु¥याउनु भएको योगदान उत्तिकै महत्वपूर्ण रहेको विज्ञप्तिमा उल्लेख छ ।

कोरोना भाइरस संक्रमणका कारण कतिपय पत्रकार उपचारको क्रममा रहेको भन्दै विज्ञप्तिमा उनीहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै कार्यक्षेत्रमा खटिरहेका पत्रकारहरुलाई उच्च सुरक्षा सतर्कता अपनाउन आग्रह समेत गरिएको छ ।

यसैगरी नेत्रविक्रम चन्द ‘विप्लब’ नेतृत्वको नेकपानिकट अखिल नेपाल जनसांस्कृतिक महासंघका महासचिव खेम थपलियाले इच्च्छुकको हत्यालाई कलमको हत्या बताएका छन् ।

“यथार्थतः इच्छुकको हत्या सभ्यताकै हत्या थियो, कलमको हत्या थियो, आवाजविहीनहरूको आवाजको हत्या थियो, सिर्जनाका हत्या थियो,” महासचिव थपलियाले भनेका छन्, “जनसाहित्यिक–जनसांस्कृतिक आदर्श नायकको हत्या थियो ।”

उनले इच्छुकका कवितांश यसरी स्मरण समेत गरेका छन् :

ओ शासकरप्रशासकहरू !
अस्वीकार्य छ हामीलाई
तिम्रा निरङ्कुश आदेशहरू
तिमी जतिसुकै हुकुम र फरमान जारी गर
तिमी जतिसुकै जुलुम र उत्पीडनहरू सुरु गर
सक्छौ भने हाम्रा चेतनाहरूमा प्रतिबन्ध लगाऊ
र, सत्यलाई कैद गर
तर ओ तानाशाहहरू !
तिम्रा बर्बर स्वेच्छाचारका विरुद्ध
हामी भने निरन्तर आवाज उठाइरहन्छौँ ।

यसैगरी नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले लकडाउनका कारण भौतिकरुपमा उपस्थित भएर कृष्ण सेन स्मृति दिवस कार्यक्रम गर्ने अवस्था नभएकाले पत्रकार महासंघ केन्द्रीय कार्यालयको टिमको सहभागिता रहने गरी कृष्ण सेनसहित हत्या गरिएका पत्रकारहरुको सम्मानमा आज दिउसो १ वजे महासंघ केन्द्रीय कार्यालयस्थित पत्रकार सहिद स्तम्भमा मौनधारण तथा श्रद्धान्जली कार्यक्रम आयोजना गरिएको सामाजिक सञ्जााल फेसबुक लेखेका छन् ।

  •  
  •  
  •  
  •  
  •