गौरीफन्टा नाकाबाट दुई दिनमा ६ हजार नागरिक नेपाल प्रवेश

१३ जेठ ०७७, कैलाली । विभिन्न समयमा रोजगारीका लागि भारत गएका ६ हजार नागरिक गौरीफन्टा नाकाबाट दुई दिनमा नेपाल प्रवेश गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले सोमबार मात्रै गौरीफन्टा नाकाबाट कैलालीका ६४७, डोटीका ५५३, बैतडीका २५३, कञ्चनपुरका १३४, डडेल्धुराका १९८ जना नेपाल प्रवेश गरेको जानकारी दिए ।

उनले भारतबाट आइतबार करिब ४ हजार नेपाली नागरिक सो नाकाबाट भएर नेपाल आएको बताए ।

प्रहरी नायब उपरीक्षक बस्नेतले उनीहरूलाई सम्बन्धित जिल्लामा समन्वय गरी पठाइएको र स्थानीय तहले क्वारेन्टाइनमा राख्ने व्यवस्था गरेको बताए ।

केही समय अघि आरडीटी परीक्षण गरेर प्रवेश दिइएको भए पनि अहिले किटको अभावमा सामान्य ज्वरो मात्रै चेकजाँच गरेर नेपाल प्रवेश गर्न दिइएको छ ।

  •  
  •  
  •  
  •  
  •