नवराज-टिकाराम मृत्यु प्रकरणको सत्यतथ्य छानबिन हुनुपर्ने माग

जाजरकोट । भेरी नगरपालिका ४ रानागाउँ जाजरकोट निवासी नवराज विश्वकर्मा र टिकाराम सुनारको मृत्यु प्रकरणको सत्यतथ्य छानबिन हुनुपर्ने माग भएको छ ।

नवराज विश्वकर्मा र चौरजहारी नगरपालिका ८ की सुष्मा मल्ल बीच प्रेम सम्बन्ध प्रकरणमा नवराज र टिकारामको शव भेरी नदीमा फेला परेसँगै घटनाको विभिन्न कोणबाट सत्यतथ्य छानबिन हुनुपर्ने माग भएको हो ।

पूर्वगृहमन्त्री तथा नेकपाका नेता जनार्दन शर्माले जेठ १० शनिबार रुकुमको चौरजहारीमा भएको घटनाको सत्यतथ्य पत्ता लगाएर दोेषीलाई कडा कारवाही गर्नुपर्ने बताएका छन् ।

‘मिति २०७७/०२/१० मा चौरजहारी न.पा वडा न.८ सोतीमा घटेको गम्भीर घटनाप्रति दुःख व्यक्त गर्दछु,” शर्माले भनेका छन्, “घटनाको सत्यतथ्य पत्ता लगाई दोषीमाथि कडा भन्दा कडा कार्वाही गर्न माग गर्दछु ।”

उनले सबैका घटनाको सत्यतथ्य बाहिर ल्याउन स्थानीय सरकार, पार्टी लगायत सरोकारवाला सबैलाई स्थलगत निरीक्षण गर्न समेत अनुरोध गरेका छन् ।

यस्तै नेकपाका नेता दलजीत श्रीपालीले संघीय संसदको सामाजिक न्याय तथा मानवअधिकार समिति, मानवअधिकार आयोग र दलित आयोग तत्काल घटनास्थल पुगेर अध्ययन गर्न माग गरेका छन् ।

संयुक्त दलित अधिकार मञ्च रुकुम पश्चिमले पनि सोमबार प्रेस विज्ञप्ति जारी गरेर अन्तरजातीय प्रेम विवाहलाई निस्तेज पार्न र जातीय साम्प्रदायिक भड्काएर सामाजिक सद्भाव बिथोल्ने ढंगले जघन्य अपराधिक हत्या काण्ड भएको बताएको छ ।

  •  
  •  
  •  
  •  
  •