प्रस्तावित स्वास्थ्य विज्ञान प्रतिष्ठानको लागि बजेट बिनियोजन गर्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र

देवराम यादव/सप्तरी । जिल्लाको प्रस्तावित रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सरकारको नीति तथा कार्यक्रममा नसमेटिएको भन्दै सत्तारुढ दलकै नेता कार्यकर्ता र नागरिक समाजका अगुवाहरुले प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ ।

पूर्वसिंचाई मन्त्री उमेश कुमार यादव, नेकपा सप्तरीका सचिव तथा प्रदेशसभा सदस्य गोबिन्द न्यौपाने, नागरिक समाज सप्तरीका कार्यवाहक अध्यक्ष थानसिंह भन्साली, सञ्चार उद्यमी शिबनारायण साह, पूर्व सांसदहरु दानालाल चौधरी, असर्फी सदा, नेकपा प्रदेश सदस्यहरु महेश प्रसाद यादव, भागवत यादव, देवनाथ यादव, राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य निरन्जन झा, अखिल नेपाल ट्रेड युनियन महासंघका प्रदेश सचिव केदार देव लगायतले सप्तरीका प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएका हुन् ।

प्रदेश २ को प्रदेशसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंहको नामबाट सप्तरीमा स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्ने प्रतिबद्धता अनुरुप गत आर्थिक बर्ष ०७६/०७७ को नीति तथा कार्यक्रममा समावेश भई रु. ४० करोड बजेट समेत विनियोजन भएको ज्ञापनपत्रमा उल्लेख छ ।

चालु आर्थिक बर्ष ०७६/०७७ मा सो स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि रु. ४० करोड विनियोजन हुनुको साथै स्वास्थ्य बिज्ञान प्रतिष्ठानको कार्यालय, पूर्वाधार तयारी विका समितिको गठनसँगै पदाधिकारी चयन भइसकेको तथा प्रतिष्ठानका लागि चाहिने ६१ बिघा जग्गा समेत व्यवस्था भइसकेको अवस्थामा सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा प्रतिष्ठानलाई समावेश नगरेको भन्दै सरोकारवालाहरुले सरकारको ध्यानाकर्षण गरेका हुन् ।

उनीहरुले स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणका लागि बजेट बिनियोजन गरी निर्माण कार्यलाई निरन्तरता दिन माग समेत गरिएको छ ।

स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणका लागि राजविराज नगरपालिकाले वडा नम्बर १० स्थित बिरौलमा ६१ बिघा जग्गा दिने निर्णय गरेर प्रतिष्ठानको नाममा दर्ता गर्न मन्त्री परिषदबाट निर्णय गराउन भूमि व्यवस्था मन्त्रालयमा पठाए पनि हालसम्म थन्काइएको ज्ञापनपत्रमा उल्लेख छ ।

  •  
  •  
  •  
  •  
  •