मापदण्ड विपरीत सञ्चालित पेट्रोल पम्प बन्द गर्न पेट्रोलियम मजदुर संघको आग्रह

शीव पोखरेल – अध्यक्ष, अखिल नेपाल पेट्रोलियम मजदुर संघ

१३ जेठ ०७७, काठमाडौं । अखिल नेपाल पेट्रोलियम मजदुर संघले पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसियसनले गरेको निर्णय फिर्ता नलिए त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी लिन चेतावनी दिएको छ ।

पेट्रोलियम डिलर्स एशोसियसनले शुक्रबार श्रमिक कटौती गर्ने धम्कीपूर्ण अभिव्यक्ति दिएको भन्दै संघले राज्यको ऐन कानून नमान्ने व्यवसायी र गैरजिम्मेवार सार्वजनिक अभिव्यक्ति दिने संस्थालाई कारबाहीको दायरामा ल्याउन सरकारसँग आग्रह गर्दै चेतावनी दिएको हो ।

“मजदुर मैत्री वातावरणमा प्रतिष्ठान सञ्चालन गर्न, सम्पूर्ण मजदुरहरुलाई सुरक्षा सम्बन्धी सामाग्री उपलब्ध गराउन र उत्पन्न समस्यालाई छलफलद्धारा टुङ्याउन जोडदार माग गर्दछौं,” संघका अध्यक्ष शीव पोखरेलले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, “अन्यथा त्यसबाट उत्पन्न हुनसक्ने परिस्थितिको जिम्मेवारी पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसियसन हुने समेत यसै विज्ञप्तिमार्फत् जानकारी गराउन चाहन्छु ।”

एशोसिएसनले श्रमिकहरुका सेवा सुविधा बारेमा राज्यले सम्बोधन गरेको राजपत्र, श्रम ऐन, सामाजिक सुरक्षा ऐन र अत्यावश्यक उद्योग प्रतिष्ठान संचालन कार्यविधि समेतलाई चुनौती दिएको भन्दै संघले मापदण्ड विपरीत संचालनमा रहेका पम्पहरू बन्द गर्नुपर्ने बताएको छ ।

“डब्लुएचओको मापदण्ड विपरीत संचालनमा रहेका पेट्रोल पम्पहरू तत्कालको लागि बन्द गर्न साथै राज्यको नीति नियम नमान्ने व्यवसायी र कानुन भन्दामाथि गई सार्वजनिक अभिव्यक्ति दिने संस्थाहरुलाई कानुनी कारबाहीको दायरामा ल्याउन समेत नेपाल सरकार र नियमन निकायहरुसँग जोडदार माग गर्दछौ” विज्ञप्तिमा उल्लेख छ ।

  •  
  •  
  •  
  •  
  •