चीन र भारत बीच लद्दाख क्षेत्रमा विवाद : मध्यस्थता गर्न अमेरिका इच्छुक रहेको ट्रम्पको ट्वीट

१४ जेठ ०७७, काठमाडौं । भारतको सीमा विवाद नेपालसँग मात्रै नभएर अन्य छिमेकीसँग बढिरहेको छ । पछिल्लो समय चीन–भारत बीच लद्दाख क्षेत्रमा तनाब बढ्दैछ ।

साउथ चाइना मर्निङ पोष्टले चीन र भारत दुबै देशले लद्दाख सीमा क्षेत्रमा थप सुरक्षा फौज परिचालन गरेको जनाएको छ ।

सीमा क्षेत्रमा तनाब बढिरहेका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार राष्ट्रिय सुरक्षा सल्लाहकारसहित अधिकारीहरूसँग छलफल गरेका छन् भने चिनियाँ राष्ट्रपति सी चिनफिङले मंगलबार नै जनमुक्ति सेनालाई तयारी अवस्था रहन निर्देशन दिएका छन् ।

यद्यपि पछिल्लो समय सीमामा खटिने दुबै देशका सैनिकहरूसँग हतियार नहुने भएकाले विवादमा गोली हानाहान नहुने भए पनि यही मे ५ मा लद्दाख विवादमा दुई देशका सैनिकहरूबीच धकेलाधकेल भएको थियो ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार ट्वीट गर्दै चीन-भारत सीमा विवाद समाधानका लागि अमेरिका मध्यस्थता गर्न तयार रहेको बताएका छन् ।

“हामीले भारत र चीन दुबै देशलाई सूचित गरिसकेका छौं कि संयुक्त राज्य अमेरिका उनीहरूको अहिलेको बढ्दो सीमा विवादमा मध्यस्थता गर्न चाहन्छ,” ट्रम्पले ट्वीटमा लेखेका छन्, “अमेरिका मध्यस्थता गर्न इच्छुक छ र सक्षम छ ।”

  •  
  •  
  •  
  •  
  •