‘गणतन्त्र’मा उनीहरु जनताको दबावमा जबर्जस्त आउन बाध्य भएका थिए- जगत सिम्खडा

“आज हामीले १३औं गणतन्त्र दिवस मनाइरहँदा भन्नै पर्दछ, हाम्रा काम गर्ने तौरतरिका, सोच र प्रवृत्ति पुरानै देखिन्छ । जसले गर्दा, आम जनताले सोचे अनुरुपको गणतन्त्र प्राप्तिको अनुभूत गर्न सकिरहेका छैनन् ।” – जगत सिम्खडा

जगत सिम्खडा – अध्यक्ष, अखिल नेपाल ट्रेड युनियन महासंघ

आज जेठ १५ अर्थात् गणतन्त्र दिवस । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले २०५२ साल फागुन १ गते जनयुद्धको घोषणा ग-यो । र, जनयुद्ध अघिबढ्दै जाँदा २३८ वर्ष पुरानो राजसंस्था अन्त्य, संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समानुपातिक, समावेशीता लगायतका मुद्दालाई अगाडि बढायो ।

त्यतिबेला संसदवादी पार्टीहरु राजसंस्था अन्त्य, संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समानुपातिक, समावेशीताका मुद्दा उठाउनु हुँदैन भन्थे । तर, माओवादी जनयुद्धले सबै राजनीतिक दलहरुलाई राजसंस्था अन्त्य, संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समानुपातिक, समावेशीता मुद्दामा ल्याउन सफल भयो । अहिले देश संघीयतामा गएको छ; देशको पुनर्संरचना भएको छ । हामी राजनीतिक क्रान्ति पुरा गरेर आर्थिक क्रान्तिको दिशामा अगाडि बढिरहेका छौँ ।

आज हामीले १३औं गणतन्त्र दिवस मनाइरहँदा भन्नै पर्दछ, हाम्रा काम गर्ने तौरतरिका, सोच र प्रवृत्ति पुरानै देखिन्छ । जसले गर्दा, आम जनताले सोचे अनुरुपको गणतन्त्र प्राप्तिको अनुभूत गर्न सकिरहेका छैनन् ।

सरकारले सहिदहरुको उचित सम्मान, बेपत्ताहरुको सार्वजनिकसहित उच्चसम्मान, आम मजदूर, किसान, सुकुम्बासीहरु सबैको आवाज सुन्ने; गास, बास, कपास, शिक्षा स्वास्थ्य र रोजगार पाउनेस्थिति सिर्जना गराउन सकेको दिन गणतन्त्र दिवसले सार्थकता पाउनेछ ।

हुनतः नेकपा माओवादीइतरका राजनीतिक दलको यो मुद्दा नै थिएन । यस्तै व्युरोक्रेसीको अनिइच्छा र असहयोग रहेको थियो । तथापि, उनीहरु जनताको दबावमा जबर्जस्त यी मुद्दामा आउन बाध्य भए । संसदवादी राजनीतिक दलहरुको अरुची रहँदारहँदै पनि गणतन्त्रप्रेमी, परिवर्तनकामी महान् नेपाली जनताको त्याग र बलिदानीबाट गणतन्त्र आयो । र, आज एक साधारण नागरिकले देशको राष्ट्रप्रमुख हुन पाउने व्यवस्था निर्माण भयो ।

सदियौँदेखि ठगिएका, अपहेलित भएका, उत्पीडनमा परेका लिङ्गीय, वर्गीय जातीय, क्षेत्रीय रुपमा सुदूरपश्चिम, सुदूरपुर्व मात्रै होइन् दूरदराजका पहाडी गाउँबस्तीहरु क्षेत्रीय हिसाबमा उत्पीडनमा थिए तर यतिबेला सबैको प्रतिनिधित्व हुने वातावरण बनेको छ । यो सकारात्मक पक्ष हो ।

आज राजनीतिक कोर्ष पुरा भएको भनिएको छ तर यो त्यतिखेर मात्रै पूर्णता हुनेछ जतिखेर महान् सहिदहरुले देखेका सपनाहरु र आम उत्पीडित नेपाली जनताले चाहेका समृद्ध नेपाल र खुशी जनता हुनेस्थिति बन्नेछ ।

सरकारले सहिदहरुको उचित सम्मान, बेपत्ताहरुको सार्वजनिकसहित उच्चसम्मान, आम मजदूर, किसान, सुकुम्बासीहरु सबैको आवाज सुन्ने; गास, बास, कपास, शिक्षा स्वास्थ्य र रोजगार पाउनेस्थिति सिर्जना गराउन सकेको दिन गणतन्त्र दिवसले सार्थकता पाउनेछ । यस्तै कोभिड–१९को महामारीले विश्व नै आक्रान्त भइरहेको यस घडीमा सरकारले देशभित्र र देशबाहिर रहेका सम्पूर्ण नेपालीहरुलाई कोरोना संक्रमण हुनबाट बच्न र बचाउन उचित समन्वय गरी सही व्यवस्थापन गर्न समेत सक्नु पर्दछ ।

यसर्थ, हाम्रो संगठन अखिल नेपाल ट्रेड युनियन महासंघ १३औं गणतन्त्र दिवसका अवसरमा जनयुद्धमा सहादत प्राप्त गर्ने महान् सहिदहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता योद्धाहरुप्रति उच्चसम्मान व्यक्त गर्दै घाइते, आपङ्ग योद्धाहरुको शीघ्र स्वास्थ्य लाभका कामनासहित स्वदेश तथा विदेशमा रहेका आम श्रमजीवी वर्गमा गणतन्त्र दिवसको हार्दिक शुभकामना व्यक्त गर्दछ ।

  •  
  •  
  •  
  •  
  •