राष्ट्रपतिको विश्वास : १३औँ गणतन्त्र दिवसले सम्पूर्ण नेपालीलाई एकजुट हुन प्रेरणा दिनेछ

फाइल तस्विर ।

१५ जेठ ०७७, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले १३औँ गणतन्त्र दिवसको अवसरमा सम्पूर्ण नेपालीहरुमा हार्दिक बधाई दिँदै सुख, शान्ति र समृद्धिको कामना गरेकी छन् ।

राष्ट्रपति भण्डारीले ऐतिहासिक जनआन्दोलनको परिणामस्वरुप स्थापित जननिर्वाचित पहिलो संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपालमा गणतन्त्र घोषणा गरेको ऐतिहासिक दिनको सुखद् स्मरण गर्दै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुलाई सुख, शान्ति र समृद्धिको कामना गरेकी हुन् ।

उनले प्रत्येक वर्ष गणतन्त्र दिवस मनाउँदै आए पनि यस वर्ष कोरोनाका कारण औपचारिक कार्यक्रम आयोजना गर्न कठिनाइ उत्पन्न भएको बताएकी छन् ।

“आजको यस ऐतिहासिक दिवसले सम्पूर्ण नेपालीहरुलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा यहाँ उपलब्ध प्राकृतिक सम्पदाको दिगो उपयोग गर्दै सामाजिक, आर्थिक र सांस्कृतिक रुपले सभ्य र समुन्नत समाज निर्माणका लागि एकजुट हुन प्रेरणा दिनेछ भन्ने विश्वास लिएको छु” राष्ट्रपतिद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ ।

वर्तमान परिवेशमा नेपालको संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख आर्थिक प्रणाली र सामाजिक न्यायसहितको आर्थिक समृद्धि हासिल गर्ने अभियानमा आ–आफ्नो क्षेत्रबाट योगदान पु¥याउन सबै राजनीतिक दल र आमजनतालाई आह्वानसमेत गरेकी छन् ।

  •  
  •  
  •  
  •  
  •