कोभिड–१९ को असर, कम विकसित र साना मुलुकमाथि बढी – प्रधानमन्त्री

१६ जेठ ०७७, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास उन्मुख, कम विकसित तथा साना मुलुकमाथि कोभिड–१९ ले बढी असर गरेको बताएका छन् ।

संयुक्त राष्ट्र सङ्घको पहलमा भएको कोभिड–१९ र त्यसपछिको युगमा विकासका लागि लगानी शीर्षकमा भएको उच्चस्तरीय भर्चुअल बैठकलाई सम्बोधन गर्नुहुँँदै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

“हामी कोभिड–१९ ले मानवीयतामाथि गम्भीर खतरा उत्पन्न गराएका बेला भेट गरिरहेका छौँ,” उनले भने, “कोभिडले विशेष गरी विकास उन्मुख, अति कमविकसित तथा साना मुलुकमाथि बढी असर गरिरहेको छ ।”

उनले कोभिड–१९ नियन्त्रण र त्यसपछिको विकासका लागि विश्वव्यापी रुपमा बहुपक्षीय सहकार्यको आवश्यकता रहेको भन्दै यस संकटमा संयुक्त राष्ट्रसङ्घ तथा यसका एजेन्सी र विश्व स्वास्थ्य सङ्गठनले गहन भूमिका निर्वाह गरेको हेर्न चाहेको पनि बताए ।

सो बैठकमा नेपालले कुनै पनि प्रकारको व्यापारिक द्वन्द्व र संरक्षणवाद नचाहेको भन्दै उनले अन्तर्राष्ट्रिय व्यापार न्यायोचित ढङ्गले हुनुपर्ने र सहकार्यात्मक समृद्धिमा जोड दिए ।

यसैबीच सो बैठकमा बोल्दै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले अहिले सहकार्य नगरे यस महामारीले संसारभरि अकल्पनीय विनाश र पीडा निम्त्याउने बताएका थिए ।

भोक र अनिकालसँगै ६० अर्ब मानिस चरम गरिबीमा धकेलिएको बताउँदै महासचिव गुटरेसले वर्तमान संकटमा एकता र एकताको एक प्रमुख पक्ष आर्थिक समर्थन रहेको बताएका थिए ।

  •  
  •  
  •  
  •  
  •