कोरोना संक्रमणबाट ६ जनाको मृत्यु, कूल संक्रमित संख्या १ हजार २ सय १२

१६ जेठ ०७७, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणबाट हालसम्म ६ जनाको मृत्यु भएको र  थप एक सय ७० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको बताएको छ ।

मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता विकास देवकोटाले हालसम्म ६ जनाको मृत्यु भएको र थप एक सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या १ हजार २ सय १२ पुगेको जानकारी दिएका हुन् ।

प्रवक्ता डा. विकास देवकोटाले छैठौँ मृतक अर्घाखाँची जिल्लाको भूमिका नगरपालिका निवासी ३५ वर्षीय पुरुष रहेको बताएका छन् । मृतक भारतबाट जेठ ११ गते नेपाल प्रवेश गरेको र नेपाल प्रवेश गर्दा स्वाबको नमूना लिइएको थियो ।

मन्त्रालयकाअनुसार भरतपुरमा गरिएको परीक्षणमा २३ देखि २६ वर्षका चार जना, राप्तीमा गरिएको परीक्षणमा विजयनगरमा ९ जनामा र भैरहवामा गरिएको परीक्षणमा १७ देखि ४४ वर्षका १५ जनाको कोभिड–१९ रिपोर्ट पोजेटिभ देखिएको छ ।

यस्तै झापामा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कचनाकवल गाउँपालिकाका १८ र ४१ वर्ष उमेरका २४ जना र तयारी भिट्टाका २४ देखि ५४ वर्ष उमेर समूहका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै धरानमा गरिएको परीक्षणमा भद्रपुरका ३४ वर्षीय पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

पर्सामा ५ र बारामा ४ जना संक्रमित थपिएका छन् । पर्साको पोखरियाका २१ देखि ४२ वर्ष उमेरका चार जना र जिरा भवानीका ३४ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यस्तै स्वास्थ्य मन्त्रालयले बाराको प्रचौटा राष्ट्रिय माविमा रहेका २७ देखि ४५ वर्ष उमेर समूहका चार जनाको रिपोर्ट पोजेटिभ आएको जनाएको छ ।

पाटन अस्पतालमा गरिएको परीक्षणमा सर्लाहीका ३१ वर्षीया महिलामा पनि कोरोना संक्रमण्म पुष्टि भएको छ ।

  •  
  •  
  •  
  •  
  •