भारतबाट नेपाल प्रवेश गर्नेको चाप उच्च, संक्रमित बढेसँगै आईसोलेसन केन्द्रको अभाव

राजविराज । सप्तरीमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमित संख्या बढेसँगै आइसोलेसन र क्वारेन्टाइन केन्द्रको अभाव भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले शुक्रबारसम्म संक्रमितको संख्या ३३ पुगेको र भारतबाट घर फर्किने संख्या दिनानुदिन बढदै गएपछि आइसोलेसन र क्वारेन्टाइन केन्द्रको अभाव देखिएको बताएका हुन् ।

उनले आईसोलेसनको अभावका कारण १३ जना अहिले पनि आशंकितहरुलाई राखिएको क्वारेन्टाइन केन्द्रमै छुट्टै कोठामा राखिएको बताए ।

बोदेबर्साइन नगरपालिकाका संक्रमित मध्येका ९ तथा राजविराज नगरपालिकाका ४ गरी १३ जना संक्रमितलाई अहिले आइसोलेसन कक्षको अभावका कारण राजविराजस्थित राजदेवी माध्यमिक विद्यालय तथा बोदेबर्साइनस्थित चन्द्र नमुना माध्यमिक विद्यालयको क्वारेन्टाइन केन्द्रको छुट्टाछुट्टै कोठामा राखिएको छ ।

जिल्लाको एकमात्र आइसोलेसन कक्ष रहेको सदरमुकाम राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा २० जना क्षमताको बेड रहेकोमा संक्रमित संख्या बढेर ३३ पुगेपछि बाँकी रहेका १३ जना सँगै सम्भावित संक्रमितको व्यवस्थापनमा थप चुनौती बढेको स्वास्थ्य कार्यालयका प्रमुख यादवले बताए ।

सम्भावित संक्रमितहरुका लागि स्थान अभाव भएपछि शुक्रबारदेखि साईकृष्णा मेडिकल कलेजमा ५७ बेडको आइसोलेसन कक्ष निर्माणसुरु गरिएको र शनिबार बिहानसम्म बाहिर रहेका संक्रमितहरुलाई ल्याउन सकिने पनि प्रमुख यादवले जानकारी दिए ।

भारतबाट नेपाल प्रवेश गर्नेको संख्या बढे सँगसँगै कोरोना संक्रमितहरुको संख्या अप्रत्यासितरुपमा बढन थालेपछि जिल्लामा १ हजार ९ सय ५२ क्षमताको ५१ वटा क्वारेन्टाईन रहेकोमा शुक्रबारसम्ममा १ हजार ८ सय ८० जना क्वारेन्टाईनमा पुगिसकेका छन् ।
जिल्ला समन्वय समिति सप्तरीका प्रमुख प्रभाकर यादवले भारतबाट फर्किनेहरुको संख्या उच्च भएको र यसले थप चुनौती थपिदै गएको बताए ।

उनले चुनौतीको कसरी सामना गर्ने विषयमा स्थानीय प्रशासन, सुरक्षा निकाय, स्वास्थ्यकर्मी लगायत सरोकारवाला निकायहरुसँग छलफल तीब्र बनाइएको र आवश्यक रणनीति बनाउन जुटेको पनि बताए ।

भारतबाट फर्किने चाप बढेसँगै स्थानीयबासीले सीमा क्षेत्रमा सुरक्षा जाँच बढाउन र कडा निगरानी गर्न साथै व्यवस्थित आइसोलेसन र क्वारेन्टाईन केन्द्रको बिस्तार गर्नुपर्ने माग गरेका छन् ।

  •  
  •  
  •  
  •  
  •