स्वास्थ्यमा कूल बजेटको ६.१५ र शिक्षालाई ११.६४ प्रतिशत रकम विनियोजन

१६ जेठ ०७७, काठमाडौं । सरकारले आर्थिक वर्ष २०७७/७८ का लागि सार्वजनिक गरेको कूल बजेटको ६.१५ प्रतिशत स्वास्थ्यमा र शिक्षा क्षेत्रका लागि ११.६४ प्रतिशत रकम विनियोजन गरेको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार संघीय संसदमा आर्थिक वर्ष २०७७/७८ का लागि १४ खर्ब ७४ अर्बको ६४ करोड रुपैयाँको बजेट प्रस्तुत गरेका थिए । उक्त बजेटको स्वास्थ्यमा ६.१५ प्रतिशत र शिक्षा क्षेत्रका लागि ११.६४ प्रतिशत विनियोजन गरिएको हो ।

आगामी आर्थिक वर्षका लागि चालुतर्फ ९ खर्ब ४८ अर्ब, पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ९१ करोड र वित्तीय व्यवस्थातर्फ १ खर्ब ७२ अर्ब रुपैयाँको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री खतिवडाले बजेटको स्रोत व्यवस्थापनमा राजस्वबाट ८ खर्ब ८९ अर्ब रुपैयाँ, वैदेशिक अनुदानबाट ६० अर्ब, वैदेशिक ऋणबाट २ खर्ब ९९ अर्ब रुपैयाँ जुटाउने र आन्तरिक ऋणबाट २ खर्ब २५ अर्ब रुपैयाँ उठाउने बताएका छन् ।

स्वास्थ्य क्षेत्रलाई ९० अर्ब ६९ करोड विनियोजन 

स्वास्थ्य क्षेत्रको पूर्वाधार विकासलाई उच्च प्राथमिकता दिइएको आगामी आर्थिक वर्ष २०७७/७८ सालको बजेटमा स्वास्थ्य क्षेत्रमा कूल बजेटको ६.१५ प्रतिशत अर्थात् ९० अर्ब ६९ करोड विनियोजन गरिएको छ ।

स्वास्थ्य मन्त्रालयले पाएको बजेटमध्ये कोरोना संक्रमण नियन्त्रण तथा उपचारको लागि तत्काल आवश्यक पर्ने औषधि, उपकरण तथा उपचार सामग्रीका लागि ६ अर्ब रुपैयाँ विनियोजन गरिएको छ ।

यस्तै काठमाडौँ उपत्यकामा ३०० शैय्याको छुट्टै सरुवा रोग अस्पताल र काठमाडौं उपत्यकाका र प्रदेश राजधानीका सरकारी अस्पतालमा थप २५० शैय्याको आईसीयू स्थापना गर्ने, प्रदेश राजधानीमा ५० शैय्याको सरुवा रोग अस्पताल निर्माण गरिने र यी स्वास्थ्य पूर्वाधार निर्माण गर्न १२ अर्ब ४६ करोड विनियोजन गरिएको छ ।

हरेक स्थानीय तहमा ५ देखि १५ शैय्यासम्मको आधारभूत अस्पताल स्थापना र स्तरोन्नति गर्नुका साथै थप २ सय ७२ वटा स्वास्थ्य संस्था निर्माण गर्नको लागि १४ अर्ब ७२ करोड रुपैयाँ छुट्याइएको छ ।

शिक्षा क्षेत्रलाई कूल बजेटको ११.६४ प्रतिशत बिनियोजन

यसैगरी आर्थिक वर्ष २०७७/०७८ को बजेटमा शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखिएको छ । कूल बजेटको ११.६४ प्रतिशत अर्थात् १ खर्ब ७१ अर्ब ७१ करोड २२ लाख रुपैयाँ शिक्षाले प्राप्त गरेको छ ।

अर्थमन्त्री खतिवडाले प्रस्तुत गरेको अनुमानित आयव्यय विवरणमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयतर्फ १ खर्ब ७१ अर्ब ७१ करोड २२ लाख बिनियोजन गरिएको छ । गत वर्ष शिक्षालाई १ खर्ब ६५ अर्ब ७६ करोड छुट्याइएको थियो ।

शिक्षाका कार्यक्रम यस्ता छन् :

  • विपन्न र अपाङ्गता भएका नागरिकाका बालबालिका, शहीदका छोराछोरी र जेहन्दार विद्यार्थी गरी २६ लाखलाई छात्रवृत्ति दिन २ अर्ब ७० करोड ।
    दिवा खाजालाई बिस्तार गरी देशभर बनाउन ७ अर्ब ५२ करोड ।
    सामुदायिक विद्यालयमा अध्ययनरत १३ लाख ४० हजार छात्रालाई स्यानिटरी प्याड निःशुल्क उपलब्ध गराउन स्थानीय तहमार्फत अनुदानका रुपमा १ अर्ब ८२ करोड वित्तीय हस्तान्तरण ।
    गेटा मेडिकल कलेज सञ्चालन गरी सिकलसेल एनिमियाको अनुसन्धान केन्द्रका रुपमा विकास गर्न र बर्दिबास, बुटवल र सुर्खेतमा मेडिकल कलेजको पूर्वाधार बनाउन १ अर्ब १७ करोड ।
    गणित, अंग्रेजी र विज्ञान शिक्षक नपुग भएका विद्यालयमा ६ हजार स्वयंम सेवक शिक्षक परिचालन गर्न २ अर्ब २३ करोड ।
    आधारभूत तहसम्म रंगिनसहित पाठ्यपुस्तक उपलब्ध गराउन २ अर्ब ७६ करोड ।
    विश्वविद्यालय अनुदान आयोगमार्फत अनुदान उपलब्ध गराउन १७ अर्ब ४३ करोड ।
    मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको पूर्वाधार निर्माण गरी शैक्षिक कार्यक्रम सुरु गर्न १ अर्ब २५ करोड ।
    बजेटमा ३८ वटा आंगिक क्याम्पस भवन पुनर्निर्माण गर्ने भनिएको छ ।
    ४६ लाख छात्रछात्रा लाभान्वित हुने गरी रंगिन पाठ्यपुस्तक छाप्न २ अर्ब ७६ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
    राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि ६ अर्ब विनियोजन गरिएको छ ।
    उच्च शिक्षाका लागि १७ अर्ब ४३ करोड विनियोजन गरिएको छ ।
    २८ लाख बालबालिकालाई लक्षित गरेर दिवा खाजाका लागि ७ अर्ब ५२ करोड छुट्याइएको छ ।
    छात्रवृत्तिका लागि जम्मा २ अर्ब ७० करोड विनियोजन गरिएको छ ।
  •  
  •  
  •  
  •  
  •