अद्यावधिक नक्सालाई संविधानको अंग बनाउने प्रस्तावको पक्षमा मतदान गर्ने कांग्रेसको निर्णय

१८ जेठ ०७७, काठमाडौं । नेपाली काँग्रेसले संघीय संसदमा सरकारले प्रस्तुत गरेको संविधान संशोधन विधेयकलाई समर्थन गर्ने निर्णय गरेको छ ।

शनिबार बसेको कांग्रेस केन्द्रीय समितिको बैठकले हालै सरकारले जारी गरेको अद्यावधिक नक्सालाई संविधानको अंग बनाउने प्रस्तावको पक्षमा मतदान गर्न संसदीय दललाई निर्देशन दिने औपचारिक निर्णय गरेको हो ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बैठकपछि संविधान संशोधनको पक्षमा पार्टीले साथ दिने निर्णय गरेको जानकारी दिएका छन् ।

बैठकको प्रारम्भमा पार्टी सभापति शेरबहादुर देउवाले कालापानी, लिपुलेक, लिम्पियाधुराको भूभाग नेपालकै भएको उल्लेख गर्दै त्यसलाई विभिन्न प्रमाणले पुष्टि गरेको बताएका थिए ।

“हामी संविधान संशोधनको पक्षमा उभिनुपर्छ” प्रवक्ता शर्माले पार्टी सभापति देउवाको भनाई उदृत गर्दै भने ।

सरकारले संसदमा ल्याएको संविधान संशोधनको विषयमा यसअघि पार्टीसित आवश्यक समन्वय नगरिएको भन्ने गुनासो पनि बैठकमा उठेको उनले बताए ।

प्रमुख प्रतिपक्षको भूमिकामा रहेको काँग्रेसको पछिल्लो निर्णयले सरकारलाई संविधान संशोधनको विधेयक संसद्बाट पास गराउन सहज हुने भएको छ ।

  •  
  •  
  •  
  •  
  •