अर्घखाँची र कास्कीमा सरकारी निकायकै रोहवरमा तरकारी तथा फलफूल नष्ट

भारतबाट बन्दाबन्दीको ६ हप्तामै ४ अर्ब साढे १२ करोड बढी मूल्यको खाद्यन्न र फलफूल आयात 

भारतबाट आयतित तरकारी भान्सामा पुग्छ; बिडम्बना किसानको तरकारी बिक्री नभएर खेतबारीमै सुक्छ !

१९ जेठ ०७७, काठमाडौं । खाद्यवस्तु, तरकारी तथा फलफूलबाट कोरोना भाइरस (कोभिड–१९) सर्ने वैज्ञानिक कारण नदेखिएकाले भारतबाट निर्वाधरुपमा खाद्यन्न, तरकारी तथा फलफूलहरु नेपाल भित्रिरहेको छ ।

सरकारले अत्यावश्यक काममाबाहेक घरबाहिर ननिस्कन जारी गरेको आदेश (गतचैत ११) देखि जेठको दोस्रो सातासम्मको अवधिमा ४ अर्ब साढे १२ करोडभन्दा बढी मूल्यको खाद्यन्न तथा फलफूल भित्रिएको भन्सार विभागले जनाएको छ ।

विभागकाअनुसार बन्दाबन्दी सुरुभएको २०७६ चैत्र ११ गतेदेखि ०७७ जेठ ११ सम्म भारतबाट नेपालमा एक लाख ९९ हजार ७१ मेट्रिक टन खाद्यान्न, ७५ हजार तीन सय १५ मेट्रिक टन तरकारी, ५६ हजार ३ सय ५७ मेट्रिकटन गेडागुडी, २९ हजार एक सय १५ मेट्रिक टन फलफूल र ११ हजार २ सय ४३ मेट्रिकटन दुग्धजन्य पदार्थ आयात गरिएको छ ।

बन्दाबन्दीको ६ हप्ताको तथ्याङ्कलाई मात्रै हेर्दा पनि भारतबाट ४ अर्ब १२ करोड ५५ लाख रुपैयाँ बराबरको तरकारी आयात भएको देखिन्छ ।

अर्घाखाँची र कास्कीमा छिमेकी जिल्लाबाट ल्याएको तरकारी तथा फलफूल नष्ट

भारतीय खाद्यन्न, तरकारी तथा फलफूल भान्सामा सहजै पुगिरहेको बेला प्रदेश नं. ४ र ५ मा सरकारी निकायहरूकै रोहवरमा छिमेकी जिल्लाबाट ल्याइएको तरकारी तथा फलफूल नष्ट गरिएको छ ।

प्रदेश नं. ५ को कपिलवस्तुको बुद्धभूमिबाट बिक्रीको अर्घाखाँचीको सन्धिखर्क लगिएको हरियो तरकारी जिल्ला प्रशासन कार्यालयले बिक्री गर्न रोक लगाएपछि आइतबार नष्ट गरिएको छ ।

यस्तै प्रदेश नं. ४ को कास्कीमा शनिबार तरकारी र फलफूल बोकेका गाडी नियन्त्रणमा लिई तरकारी र फलफूल नष्ट गरिएको छ ।

कास्कीको पोखरा महानगरपालिका १५ का स्थानीयले जेठ १५ गते तरकारी र फलफूल बोकेका ट्रक नियन्त्रणमा लिएर वडा प्रमुख, प्रहरी र स्थानीय डोजरले खाल्डो खनेर तरकारी तथा फलफूल नष्ट गरेका थिए ।

पृथ्वीचोकस्थित बास्तोला स्टोरमा तरकारी पसल चलाउँदै आएका हरि गौतमकाअनुसार चितवनलगायतका जिल्लाबाट बिक्रीका लागि खरिद गरेर लगिएको गोलभेडालगायतका लोकल तरकारी राति २ बजे नियन्त्रणमा लिएर बिहान नष्ट गरिएको हो ।

भारतबाट आयतित तरकारीमा कालोबजारी हुने सम्भावना

स्थानीय रुद्र गौतमले कोरोना संक्रमणको रोकथाम र नियन्त्रण गर्न नगरपालिकाले यसअघि नै बाहिर जिल्लाबाट तरकारी ओसार पसार गर्न रोक लगाएको जानकारी दिँदै व्यापारीहरुले स्थानीय उत्पादन भन्दै भारतबाट आयतित तरकारीको कालोबजारी समेत गर्ने सम्भावना बढेकाले बाहिरबाट ल्याइएको तरकारी नष्ट गरिएको हुनसक्ने बताए ।

अर्घखाँचीका सहायक प्रमुख जिल्ला अधिकारी बिक्रम थापाले तरकारी नष्ट गरिएको विषयमा अर्घाखाँचीमा जेठ ५ गते बसेको सर्वपक्षीय बैठकले  बाहृय जिल्लाबाट भित्रिने तरकारी र फलफूल रोक्ने निर्णय गरेको जानकारी दिए ।

यस्तै पोखरा लेखनाथ महानगरपालिकाको जेठ ११ गते बसेको सर्वपक्षीय बैठकले छिमेकी जिल्लाबाट तरकारी र फलफूल भित्रिन नदिने निर्णय गरेको थियो ।

  •  
  •  
  •  
  •  
  •