अर्थमन्त्रीज्यू, लप्सीफेँदी–रातमाटे–हेटौडा प्रसारण लाइन कुन पैसाले बन्छ – कांग्रेस नेता मिनेन्द्र रिजाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको वहसलाई राजनीतिक व्यवस्थापन गर्न नसकेर उत्पन्न जटिलता संसदले व्यहोरेर बस्नु पर्ने ? पैसा कहाँबाट आउँछ भनेर थाहै नपाएर संसदले पास गर्नुपर्ने ? यो गलत भयो; यस्तो नजिर नबसाल्नुस् ।”

१९ जेठ ०७७, काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद मिनेन्द्र रिजालले अर्थमन्त्रीलाई लप्सीफेँदी–रातमाटे–हेटौडा र लप्सीफेँदी–रातमाटे–दमौली–बुटवल ४ सय के.भी. प्रसारण लाइन कुन पैसाले बन्छ स्पष्ट गर्न सुझाएका छन् ।

सोमबार अर्थमन्त्रीले विनियोजन विधेयक ०७७ माथि विचार गरियोस् भनेर संसदमा पेश गरेको प्रस्ताव माथिको छलफलमा सांसद मिनेन्द्र रिजालले यस्तो बताएका हुन् ।

विनियोजन विधेयक ०७७ माथि विचार गरियोस् भनेर अर्थमन्त्रीले प्रस्ताव राखेको तर विचार गर्नलाई नै कठिन भएको भन्दै उनले भने, “यो प्रसारण लाइन लप्सी फेँदीदेखि बुटवलसम्म कुन पैसाले बन्छ ? यो पैसा अनुदानमा आउँछ ? अनुदानमा आए कहाँबाट आउँछ ? अथवा, बैदेशिक ऋणबाट आउँछ ? या हामीले राजस्वबाट गर्छौं; टुङ्गो हुनुपर्छ ? काट्ने ठाउँ पनि देखाउनुस् । विनियोजन विधेयक माथिको छलफल अपमान नगरौ ।”

सांसद रिजालले अनुसूची १० मा मिलेनियम च्यालेन्ज कर्पोरेशन युएसएको अनुदानको कुरा अघिल्लो वर्ष पनि थियो अहिले पनि छ नयाँ चीज होइन् भन्दै त्यो अनुदान आए पनि नआए पनि सरकारले प्रसारण लाइन बनाउने भनेकाले आउने ठाउँ स्पष्ट गर्नुपर्नेमा जोड दिए ।
“आए पनि नआए पनि प्रसारण लाइन बनाउने हो भने त्यो (एमसीसी)भन्दा बढी अनुदान आउने ठाउँ पनि छैन् । संसदले जे गर्छ त्यही हुन्छ भन्नुभएको छ; संसदले नलिने निर्णय गर्यो भने त्यो पैसा आउने कुनै एउटा योजना काट्नु पर्यो । स्वदेशबाट उठाउने कि विदेशबाट उठाउने ? त्यसरी उम्कन पाउनु हुन्न अर्थमन्त्रीज्यू” रिजालले भनेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको वहसलाई राजनीतिक व्यवस्थापन गर्न नसकेर उत्पन्न जटिलता संसदले व्यहोरेर बस्नु पर्ने ? भन्दै उनले भने, “पैसा कहाँबाट आउँछ भनेर थाहै नपाएर संसदले पास गर्नुपर्ने ? यो गलत भयो; यस्तो नजिर नबसाल्नुस् ।”

  •  
  •  
  •  
  •  
  •