थप २८८ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या २०९९ पुगे

२० जेठ ०७७, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले थप २८८ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएका छन् ।

मंगलबार उनले पीसीआर विधिबाट गरिएको कोरोना परीक्षणमा थप २८८ जना कोरोना संक्रमित पुष्टि भएको र यससँगै नेपालमा कूल संक्रमित संख्या २०९९ पुगेकोे जानकारी दिएका हुन् ।

उनले रौतहट ३८, स्याङ्जा ५, पर्वत ५, सप्तरी १, बर्दिया ३, बाँके १७, सुर्खेत २७, दैलेख ९ जनामा संक्रमण देखिएको बताए । यस्तै, सल्यान १८, अछाम १०, बारा १, दाङ १७, प्युठान १, कन्चनपुर ८, कैलाली १०, धनुषा ६, महोत्तरी २ जनामा संक्रमण पुष्टि भएको पनि बताए ।

भक्तपुर १, धादिङ १, कपिलवस्तु १६, काठमाडौं ४, नवलपरासी पूर्व १, नवलपरासी पश्चिम १, नुवाकोट २, रुपन्देही १० सहित अहिलेसम्म ७७ वटा जिल्लामध्ये ६१ जिल्लामा कोरोना भाइरसको संक्रमण भएको छ ।

उनले क्वारेन्टाइनमा एक लाख ४५ हजार ३७५ जना साथै आइसोलेसनमा एक हजार ८२५ रहेको पनि बताए ।

  •  
  •  
  •  
  •  
  •