कोरोना संक्रमित ७६ वर्षीय पुरुषको निधन, संक्रमणबाट मृत्यु हुने संख्या ९ पुग्यो

२१ जेठ ०७७, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणबाट थप एक जनाको निधन भएको जनाएको छ ।

मन्त्रालयले नियमित पत्रकार सम्मलेनमा दोलखाका ७६ वर्षीय पुरुष कोरोना संक्रमणबाट निधन भएको जानकारी दिएको हो ।

जेठ १३ गते मेडिकल कलेज सिनामंगलमा उपचाररत रहेका उनको १५ गते स्वाब परीक्षण गरिएको भन्दै स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले कोरोना पुष्टि भएका उनलाई थप उपचारका लागि शिक्षण अस्पताल महाराजगंजको आईसीयुमा राखिएको तर आज निधन भएको जानकारी दिएका हुन् ।

यस्तै प्रवक्ता देवकोटाले पछिल्लो अद्यावधिक विवरण अनुसार नयाँ संक्रमित २०१ जना थपिएको बताए । यससँगै कूल संक्रमित संख्या २३०० पुगेको भन्दै उनले पुरुष २१३० र महिला १७० जना रहेको बताए ।

यस्तै अहिलेसम्म ६४ जिल्लामा कोरोना संक्रमण देखिएको पनि उनले बताए ।

  •  
  •  
  •  
  •  
  •