छुवाछूतसम्बन्धी जघन्य घटनाका अपराधीहरूलाई कानुनी दायरामा ल्याइने

२१ जेठ ०७७, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक बहिष्करण, छुवाछूत र यसका आधारमा हुने हिंसामा शून्य सहनशीलताको नीति नेपाल सरकारले अवलम्बन गरेको बताएका छन् ।

जातीय विभेद तथा छुवाछूत विरुद्धको राष्ट्रिय दिवसका अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले छुवाछूतसम्बन्धी जघन्य घटनाका अपराधीहरूलाई कानुनी दायरामा ल्याउने बताएका हुन् ।

छुवाछूत मानव सभ्यताकै कलङ्क रहेको भन्दै उनले भने, “छुवाछूतसम्बन्धी जघन्य घटनाका अपराधीलाई कडाभन्दा कडा सजाय दिने कुरामा सरकारले कुनै सम्झौता गर्ने छैन ।”

उनले जातीय छुवाछूत र विभेद निश्चित समुदायको मात्र नभई समाज र राष्ट्रको समस्या भएको बताउँदै पीडितको मानव अधिकार संरक्षण गर्न र हिंसा अन्त्य गर्न व्यक्ति, परिवार, समाज र तीनै तहका सम्पूर्ण सरकारी निकाय, राजनीतिक दल, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, नागरिक समाज, मिडिया र आमनागरिकलाई समेत आग्रह गरेका छन् ।

जातीय आधारमा हुने सबै प्रकारका विभेद, कुरीति, अन्धविश्वास, अपराध, बहिष्करण, बञ्चितीकरण र हिंसालाई राज्यले कानुनी रूपमा निषेध गरेको पनि उनले बताए ।

  •  
  •  
  •  
  •  
  •