नेपाली नागरिकलाई स्वदेश ल्याउने सरकारको तयारी, उपत्यकामा ‘होल्डिङ सेन्टर’ निर्माण

२१ जेठ ०७७, काठमाडौं । सरकारले स्वदेश फर्कने नेपाली नागरिकलाई फिर्ता ल्याउने तयारी गरिरहेका बेला उपत्यकाका तीनै जिल्लामा ‘होल्डिङ सेन्टर’ निर्माण गरिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आउने नेपाली नागरिकलाई उपत्यका (काठमाडौं, ललिलपुर र भक्तपुर)का सङ्कट व्यवस्थापन केन्द्र (सीएमसी)ले केही दिन होल्डिङ सेन्टरमा राख्ने काठमाडौं सीएमसीका सल्लाहकार एवम् जिल्ला समन्वय समिति काठमाडौंँका प्रमुख शिवसुन्दरराज वैद्यले जानकारी दिए ।

सरकारले कोरोना भाइरस (कोभिड–१९)को संक्रमण, रोकथाम तथा नियन्त्रण गरी समुदायमा फैलिन नदिन होल्डिङ सेन्टर निर्माण गरिएको हो ।

विदेशबाट फर्केका बाग्मती, गण्डकी र प्रदेश–५ का नागरिकलाई काठमाडौँ, कर्णाली र सुदूरपश्चिम प्रदेशका नागरिकलाई ललितपुर र प्रदेश–१ र २ का नागरिकलाई भक्तपुरमा राख्ने गरी होल्डिङ सेन्टर निर्माण गरिएको छ ।

सरकारले विदेशमा अलपत्र परेका नेपाली नागरिकलाई उद्दार गरी स्वदेश आउन सहजीकरण गर्ने सम्बन्धी आदेश जारी गर्ने तयारी गरिरहेको छ ।

  •  
  •  
  •  
  •  
  •