चौरजहारी घटनामा संलग्न भएको आशंकामा थप ७ जना पक्राउ

२३ जेठ ०७७, रुकुम पश्चिम । प्रहरीले चौरजहारी घटनामा संलग्न भएको आशंकामा थप ७ जनालाई पक्राउ गरेको छ ।

रुकुम पश्चिमको चौरजहारी नगरपालिका– ८, सोतीमा ६ जनाको ज्यान जाने गरी भएको घटनामा संलग्न थप ७ जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको हो ।

उक्त घटनामा योसँगै पक्राउ पर्नेको संख्या २५ पुगेको जिल्ला प्रहरी कार्यालयका डिएसपी ठगबहादुर केसीले बताए ।

उनले बिहीबार सोती गाउँकै ४० वर्षीय नेत्रबहादुर मल्ल, ३० वर्षीय रेशम मल्ल, २१ वर्षीय धनराज राना, २४ वर्षीय रमित पुन, २१ वर्षीय नवीन घर्ती, २४ वर्षीय विराज पुन र २२ वर्षीय भीम पुनलाई गाउँबाटै पक्राउ गरिएको जानकारी दिए ।

मृतकका परिवारले २० जनाविरुद्ध दिएका किटानी जाहेरीका आधारमा प्रहरीले यस अघि चौरजहारी– ८ का वडाध्यक्ष डम्बरबहादुर मल्लसहित १८ जनालाई पक्राउ गरिसकेको छ भने २ जना फरार छन् ।

  •  
  •  
  •  
  •  
  •