नेपालमा जडीबुटीको प्रयोग गरी कोरोना खोप तयार गरिएको दावी

२४ जेठ ०७७, मकवानपुर । विश्वका वैज्ञानिकहरु कोभिड–१९ विरुद्धको खोप अनुसन्धानमा जुटिरहेका बेला नेपालमा डा. ललितकुमार दासले खोप तयार पारेको बताएका छन् ।

वन विज्ञान अध्ययन संस्थानअन्तर्गत हेटौँडा क्याम्पसका सहायक प्राध्यापक डा. दासले जडीबुटीको प्रयोग गरी खोप तयार पारेको बताएका हुन् ।

नेपालसहित विश्वका ७३ देशका अनुसन्धानकर्ता र डब्ल्यूएचओका अनुसन्धान अधिकारीसँग डा. दासले मंगलबार मात्रै भर्चुअल छलफल गरेका थिए । छलफलमा विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले करिब ३ महिनाको अध्ययनबाट कोरोना भाइरसविरुद्ध डा. दासले तयार पारेका दुई प्रकारको खोप/अनुसन्धानलाई  चासो राखेर  छलफलसमेत गरेको थियो ।

उनले बैठकपछि डब्लुएचओले कोरोनाविरुद्धको खोपको खोजी र अनुसन्धानलाई निरन्तरता उत्प्रेरित गरिरहेको जानकारी दिएका छन् ।

डा. दासले कोरोना भाइरसविरुद्धको खोपलाई एस १, एस २ र एस ३ सङ्केत दिएका छन् भने कोरोना प्रतिरोधी क्षमता बढाउने अर्को खोपलाई एस ४, एस ५, एस ६, एस ७, एस ८ र एस ९ सङ्केत दिएका छन् ।

उनले अनुसन्धानलाई लिएर विश्व स्वास्थ्य सङ्गठनका अनुसन्धान अधिकारीसँग अर्को बैठक असार २ गतेका लागि तय भएको बताए ।

उनको अनुसन्धानलाई लिएर बाग्मती प्रदेश सरकार र सामाजिक विकास मन्त्रालयले चासो राखेर सहयोग र सहजीकरण गर्ने जनाएको छ ।

बागमती प्रदेशका सामाजिक विकास मन्त्रीको संयोजनमा शुक्रबारदेखि औषधिको औपचारिक तथा कानूनी परीक्षणको प्रक्रिया प्रारम्भ गरिएको छ । औषधिका सम्बन्धमा मन्त्री युवराज दुलालले शुक्रबार प्रदेशका विज्ञ तथा देशका प्रतिष्ठित वैज्ञानिकसँग समेत छलफल गरेका थिए ।

  •  
  •  
  •  
  •  
  •