मिलेनियम च्यालेन्ज सम्झौता (कम्प्याक्ट) खारेजीका लागि संघर्ष समिति गठन

२५ जेठ ०७७, काठमाडौं । नागरिक आवाजले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज सम्झौता (कम्प्याक्ट) खारेजीका लागि संघर्ष समिति गठन गरेको छ ।

नागरिक आवाजका संयोजक असोज महर्जनको अध्यक्षतामा आइतबार काठमाडौंमा बसेको बैठकले एमसीसी संशोधन होइन् खारेज नै गर्नुपर्ने भन्दै सुमन सायमीको संयोजकत्वमा १५ सदस्यीय संघर्ष समिति गठन गरेको हो ।

संयोजक महर्जनले एमसीसी खारेजीका लागि सरोकारवाला निकाय र व्यक्तिहरुलाई ज्ञापन–पत्रमार्फत् ध्यानाकर्षण गराउँदा समेत सुनुवाई नभएपछि आफूहरुसँग आन्दोलनको विकल्प नभएको बताए ।

उनले सबै पार्टीका नेता तथा सांसदहरुलाई पार्टी राजनीतिभन्दा माथि उठेर राष्ट्रिय स्वाधीनताको लडाईंमा एकजुट हुनु आग्रह गर्दै भने, “हामीले सुनको थाली लिएर भिख मागिररहेका छौं । सार्वभौम देशका स्वाधीन नागरिकलाई यो सुहाउने बिषय होइन् ।”

उनले नागरिक आवाज एमसीसी खारेजीलाई मुख्य मुद्दा बनाएर आन्दोलन उठाउने तयारी गरिरहेको पनि खुलासा गरे ।

सम्पदा बचाउ अभियान, गैरन्यायिक सडक बिस्तार संघर्ष समिति साथै सामाजिक अभियान्ताहरुको संयुक्त फोरमले एमसीसी खारेजीका लागि दबाबमुलक आन्दोलनको आँधिबेरी सिर्जना गर्ने उनले बताए ।

नागरिक आवाजका एक सदस्य रबिन्द्र कुमार श्रेष्ठले राष्ट्रघाती एमसीसी खारेजीका लागि आफूहरुसँग आन्दोलनको विकल्प नभएपछि संघर्ष समिति गठन गरिएको बताए ।

एमसीसी खारेज गर्न सशक्त र निर्णायक आन्दोलन बनाउने बताउँदै श्रेष्ठले बैठकमा एमसीसीका दफा, अनुसूची र परिशिष्टहरुमा रहेका राष्ट्रघाती बुँदाहरुमा व्यापक छलफल भएको समेत बताए ।

यस्तै संघर्ष समितिका संयोजक सुमन सायमीले सोमबार बैठक बसेर आन्दोलनको कार्यक्रम बनाइने जानकारी दिए ।

यस्तै संयोजक सायमीले बन्दाबन्दीकै समयमा गुठी विधेयक सुझाव समिति गठन गरेर सरकारले गुठी आन्दोलनको मर्मविपरीत कार्य गरेको भन्दै सुकुम्बासी र अव्यवस्थित बस्तीहरुलाई व्यवस्थापन गर्ने नाममा उपत्यकामा नै जग्गा वितरण गर्ने गरी आयोग गठन गरिएकोप्रति पनि कडा आपत्ति जनाए ।

  •  
  •  
  •  
  •  
  •