विद्यार्थीलाई पाँच समूहमा वर्गीकरण गरी अध्यापन गर्ने सरकारको तयारी

२५ जेठ ०७७, काठमाडौं । सरकारले बैकल्पिक विधिबाट विद्यार्थीहरुलाई अध्यापन गरिने बताइरहेको बेला विद्यालयको सहयोग तथा समन्वयमा घरघरमै पाठ्यपुस्तक पु-याउने तयारी गरेको छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक गेहनाथ गौतमकाअनुसार कोरोना र बन्दाबन्दीका कारण विद्यार्थीहरु विद्यालय जानसक्ने अवस्था नभएपछि उनीहरुलाई घरमै पाठ्यपुस्तक पु-याउने योजना बनाइएको हो ।

उनले स्थानीय तह र विद्यालयको समन्वयमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण बन्दाबन्दीमा परेका विद्यार्थीलाई घरमै पाठ्यपुस्तक उपलब्ध गराइने जानकारी दिए ।

यसैबिच बागलुङ जिल्ला गल्कोट नगरपालिका १० स्थित पाण्डवखानी उच्च माध्यमिक विद्यालयले विद्यार्थीहरुलाई नयाँ पाठ्यपुस्तक वितरण गरिसकेको बताएको छ ।

पाण्डवखानी उच्च मा.वि.का शिक्षक राजु काउचाले उक्त विद्यालयका कक्षा १ देखि १० सम्मका विद्यार्थीहरुलाई नयाँ पाठ्यपुस्तक वितरण गरिसकेको बताए ।

केही समयअघि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले असार १ बाट मुलुकभर बैकल्पिक विधिबाट पठनपाठन सुरु गरिने बताएका थिए भने सरकारले हालै मात्र बैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका–२०७७ हालै सार्वजनिक समेत गरिसकेको छ ।

निर्देशिकामा विद्यार्थीहरुलाई पाँच समूहमा वर्गीकरण गर्नुपर्ने उल्लेख गरिएको छ । जसमा सबै किसिमको प्रविधिको पहुँचभन्दा बाहिर रहेको विद्यार्थीको समूह, रेडियो, एफएम रेडियोमा पहुँच भएका विद्यार्थीको समूह, टेलिभिजनमा पहुँच भएका विद्यार्थीको समूह, कम्युटर भएको तर अनलाइन नभएका विद्यार्थीको समूह र इन्टनरेट तथा सूचना सञ्चार प्रविधिका साधनमा पहुँच भएका विद्यार्थी रहेका छन् ।

  •  
  •  
  •  
  •  
  •