प्रहरी र जनप्रतिनिधिले बेहुलीको घरमा पुगेर रोके बालबिबाह

२६ जेठ ०७७, सोलुखुम्बु । जिल्लाको थुलुङ दूधकोशी गाउँपालिका–९ लोखिममा प्रहरी र जनप्रतिनिधिले बालबिबाहलाई रोकेका छन् ।

आइतबार धुमधामका साथ बालबिबाह भइरहेको सूचनाका आधारमा बेहुलीको घरमा पुगेका जनप्रतिनिधि र प्रहरीले दुबै पक्षलाई सम्झाएर बालबिबाह रोकेका हुन् ।

वडाध्यक्ष भूपालसिं राईले दिएको जानकारी अनुसार दुबैको मञ्जुरीमा लोखिमका एक १९ वर्षीय युवक र १६ वर्षीया युवतीबीच विवाह भइरहेको थियो ।

उनले भने, “प्रहरी र जनप्रतिनिधि बेहुलीको घरैमा पुगेर दुवै पक्षलाई सम्झाइबुझाई विवाह रद्ध गरिएको छ ।”

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी प्रहरी निरीक्षक महेन्द्र दर्नालले दुबै पक्षको मञ्जुरीमा नै उक्त विवाह भइरहेको भएता पनि मुलुकी अपराध संहिता, २०७४ को दफा १७३ को उपदफा २ मा २० वर्ष नपुगी हुने बिबाह कानून विपरीत मानिएकाले सम्झाएर रोकिएको बताए ।

ग्रामीण क्षेत्रमा अधिकांश बाल विवाह हुने तर जनचेतना मुलुक कार्यक्रमहरु चाहिँ सहर केन्द्र्रीत हुने गरेको पाइन्छ । जिल्लाका सरोकारवाला नियाकहरु जनचेतनाको अभावले गर्दा बाल विवाह हुने गरेको बताउँछन् ।

  •  
  •  
  •  
  •  
  •