चीनले अमेरिकालाई भन्यो, छेन्दुमा रहेको महावाणिज्य दूतावास बन्द गर्नु

काठमाडौं । चीनले अमेरिकालाई सिचुवान प्रान्तको राजधानी छेन्दुमा रहेको अमेरिकी महावाणिज्य दूतावास बन्द गर्न आदेश दिएको छ ।

बौद्धिक सम्पत्ति र सूचनाको रक्षा गर्न भन्दै अमेरिकाले ह्युजटनमा रहेको चिनिया महावाणिज्य दूतावासलाई बन्द गर्न भनेसँगै चिनियाँ विदेश मन्त्रालयले पनि शुक्रबार अमेरिकी महावाणिज्य दूतावास बन्द गर्न निर्देशन दिएको हो ।

साउथ चाइना मर्निङ पोष्टले अमेरकालाई छेन्दुमा रहेको अमेरिकी महावाणिज्य दूतावास बन्द गर्न चीनले आदेश दिएको उल्लेख गरेको छ ।

‘चीनले चालेको यो कदम वैधानिक र अमेरिकी अन्यायपूर्ण कार्यको आवश्यक जवाफ हो । यो अन्तर्राष्ट्रिय कानुन, अन्तर्राष्ट्रिय सम्बन्धको आधारभूत मान्यता र कूटनीतिक अभ्यासको प्रचलन हो,’ चिनियाँ विदेश मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, ‘चीन–अमेरिका सम्बन्ध अहिले जुन अवस्थाबाट गुज्रिरहेको छ यो चीनले हेर्न चाहेको दृश्य होइन्, यसका लागि पूर्णरूपमा अमेरिका जिम्मेवार छ ।’

चीनले अमेरिकालाई आफ्नो गलत निर्णय तत्काल फिर्ता लिएर दुई देशको सम्बन्ध पुरानै लयमा फर्काउन समेत सुझाएको छ ।

केहीदिन अघि मात्रै अमेरिकाले चीनलाई ७२ घन्टाभित्र टेक्सासको ह्युजटनस्थित चिनियाँ महावाणिज्य दूतावास बन्द गर्न भनेको थियो ।

  •  
  •  
  •  
  •  
  •