एसईईमा चार लाख ७२ हजार ७८ विद्यार्थीको प्राप्ताङ्क प्रमाणित – राष्ट्रिय परीक्षा बोर्ड

१ भदौ ०७७, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का कारण लिखित परीक्षा स्थगित भएपछि राष्ट्रिय परीक्षा बोर्डले आन्तरिक मूल्याङ्कनबाटै २०७६ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ ।

बोर्डले सोमबार सार्वजनिक गरेको नतिजाअनुसार एसईईमा चार लाख ८२ हजार ९८६ जना विद्यार्थीले परीक्षाका लागि आवेदन फाराम भरेकोमा चार लाख ७२ हजार ७८ जना विद्यार्थीको प्रामाणिक प्राप्ताङ्क विवरण प्राप्त भएको बोर्डले जनाएको छ ।

विद्यालयबाट प्राप्त विद्यार्थीको प्राप्ताङ्कलाई सङ्कलन, रुजु तथा ग्रेडिङ गरी बोर्डले एसईईको नतिजा प्रमाणीकरण गरेको हो ।

बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलले एसईईका विद्यार्थीले बोर्डबाट छाप लागेको प्रमाणपत्र १५ दिनपछि पाउने बताए ।

गत चैत ६ गते लिनुपर्ने एसईईको नियमित परीक्षा चैत ५ गते स्थगित भएसँगै यसवर्षको एसईई परीक्षाको नतिजा विद्यालयले नै आन्तरिक मूल्याङ्कन गरी बोर्डमा पठाएको थियो ।

  •  
  •  
  •  
  •  
  •