भारतका पूर्वराष्ट्रपति मुखर्जीको निधन : नेकपाका अध्यक्ष प्रचण्डद्वारा श्रद्धाञ्जली अर्पण

१५ भदौ ०७७, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधनले नेपालले एक अनन्य मित्र गुमाएको बताएका छन् ।

नेकपाका अध्यक्ष प्रचण्डले सोमबार साँझ एक श्रद्धाञ्जली जारी गरेर कोरोनाको संक्रमणबाट भारतका पूर्वराष्ट्रपति मुखर्जीको निधन भएको समाचारले आफू स्तब्ध भएको भन्दै उनको निधनले दक्षिण एसियाले बौद्धिक नेता र नेपालले एक अनन्य मित्र गुमाएको बताएका हुन् ।

“विश्वव्यापी प्राणघातक रोगका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको दुखद् निधन भएको समाचारले स्तब्ध तुल्याएको छ,” श्रद्धाञ्जलीमा भनिएको छ, “उहाँको दुखद निधनले दक्षिण एसियाले एक परिपक्व र अनुभवी बौद्धिक नेता एवं नेपालले एक अनन्य मित्र गुमाएको छ ।”

भारतीय पूर्वराष्ट्रपति मुखर्जीलाई आफू प्रधानमन्त्री रहेको बेला भारतीय राष्ट्रपतिको रुपमा नेपालमा स्वागत गर्न पाएको स्मरण गर्दै नेकपाका अध्यक्ष प्रचण्डले उनको निधनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त भारत सरकार र सम्पूर्ण भारतीय नागरिकमा गहिरो समवेदना प्रकट गरेका छन् ।

हार्दिक श्रद्धाञ्जली !

विश्वव्यापी प्राणघातक रोगका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको दुखद् निधन भएको समाचारले स्तब्ध तुल्याएको छ । उहाँको दुखद निधनले दक्षिण एसियाले एक परिपक्व र अनुभवी बौद्धिक नेता एवं नेपालले एक अनन्य मित्र गुमाएको छ । मैले प्रधानमन्त्रीको हैसियतले राष्ट्रपतिको रुपमा नेपालमा स्वागत गर्न पाएको अबसरको स्मरण गर्दै यस दुखद् क्षणमा उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । शोक सन्तप्त भारत सरकार र सम्पूर्ण भारतीय नागरिकमा गहिरो समवेदना प्रकट गर्दछु ।

चौरासी वर्षीय भारतीय पूर्वराष्ट्रपति प्रणव मुखर्जीको सोमबार निधन भएको उनका छोरा अभिजित मुखर्जीले पुष्टि गरेका छन् ।

उनले ट्वीटमार्फत् बुवाको केही समयअघि मृत्यु भएको जानकारी दिएका हुन् ।

पूर्वराष्ट्रपति मुखर्जीलाई स्वास्थ्यमा समस्या देखिएपछि केही दिनअघि मात्रै सैनिक अस्पतालमा भर्ना गरिएको थियो ।

उनको मस्तिष्क सर्जरी गर्नु अघि कोभिड–१९ परीक्षण गर्दासंक्रमण पुष्टि भएको थियो ।

  •  
  •  
  •  
  •  
  •