सांसद सिम्खडाले भने – सबै पार्टीका नेता, सिंहदरबार र बालुवाटारलाई बेलैमा चेतना भया !

२३ भदौ ०७७, काठमाडौं । बागमती प्रदेश सांसद जगत सिम्खडाले सबै पार्टीका नेता, सिंहदरबार र बालुवाटार श्रमिकहरुको भोको पेट र अन्धकार भविष्यप्रति चिन्तित नभए श्रमिकहरू बाध्य भएर सडकमा आउने चेतावनी दिएका छन् ।

मंगलबार सामाजिक सञ्जालमा एक श्रमिकको कारूणिक भिडियोसहित स्टाटस पोष्ट गर्दै सांसद सिम्खडाले सबै पार्टीका नेता, सिंहदरबार र बालुवाटारलाई श्रमिकहरुको भोको पेट र अन्धकार भविष्यप्रति चिन्तित हुन सुझाउँदै श्रमिकहरू भोकबाट मर्ने अवस्था आए बाध्य भएर सडकमा आउने चेतावनी दिएका हुन् ।

“सरकार अब त अति भयो ! नाम्लो कम्मरमा कसेर सडकमा बसेर भोकै रुँदै हिँडिरहेका भारी बोक्ने मजदुरहरुको बेदना कहिले सुन्ने हो ?,” उनले लेखेका छन्, “भारी बोकेर छाक टार्नेलाई रोगबाट मर्नभन्दा भोकबाट मर्न धेरै गाह्रो हुँदोरहेछ । तत्काल गाँस, बासको व्यवस्था गर । अन्यथा, सडकमा आउन बाध्य हुने अवस्था सृजना हुनेछ ।”

“श्रमिकहरु भोको पेट र अन्धकार भविष्यको सन्त्राससहित शासकविरुद्ध घृणा ओकल्न सडकमा आउने दिन आउन सक्छ,” सांसद सिम्खडाले लेखेका छन्, “देशका सबै पार्टी र नेतालाई सिंहदरबार र बालुवाटारमा श्रमिक, किसानहरुको मतले नै पु-याएको हो । बेलैमा चेतना भया !”

  •  
  •  
  •  
  •  
  •