विकास निर्माण कार्य सम्पन्न, भुक्तानी नपाएपछि वडा कार्यालयमा तालाबन्दी

देवराम यादव/२४ भदौ ०७७, राजविराज । सप्तरी जिल्लाको रागजढ गाउँपालिकाको मलेकपुर स्थित वडा नं. ५ कार्यालयमा बुधबार तालाबन्दी गरिएको छ ।
स्थानीयस्तरमा विभिन्न विकास निर्माण कार्यका लागि गठित उपभोक्ता समितिका पदाधिकारीहरुद्वारा वडा कार्यालयमा तालाबन्दी गरिएको हो ।
वडा कार्यालयले विभिन्न मितिमा उपभोक्ता समितिमार्फत् गराएको विकास निर्माण कार्य सम्पन्न भएको महिनौं बितिसक्दा पनि भुक्तानी नदिएको भन्दै उनीहरुले तालाबन्दी गरेका हुन् ।
स्थानीय धु्रव साहले काम सम्पन्न गरेको तीन महिना बितिसक्दा पनि वडाध्यक्ष लक्ष्मी ठाकुरले परिषद नबसेको बताएको तर गाउँपालिका अध्यक्ष प्रमानन्द यादव समक्ष जाँदा केहीदिनपछि भुक्तानी गर्ने भन्दै आलटाल गरेकाले बाध्य भई तालाबन्दीमा गर्नु परेको बताए ।

यस्तै एक उपभोक्ता समितिका अध्यक्ष जितन सरदारले गाउँकै साहु महाजनसँग चर्को ब्याज लिएर काम सम्पन्न गरेको ३ महिना बितिसक्दा पनि भुक्तानी नपाए पछि आफूहरुले ऋणको ब्याजमै डुब्न लागेका तालाबन्दी गरिएको बताए ।

यता गाउँपालिकाका अध्यक्ष परमानन्द यादव तथा वडाध्यक्ष लक्ष्मी ठाकुरले भने गाउँ परिषद नभएकाले रकम निकासा नहुँदा भुक्तानी दिन समस्या भएको बताएका छन् ।

नदी नियन्त्रणको नाममा व्यक्तिगत पोखरी निर्माण

सप्तरीको महादेवा गाउँपालिका वडा नं. १ पकरी स्थित मो. फिरियादको घर नजिक खाडो नदी नियन्त्रणको नाममा २ लाखको व्यक्तिगत पोखरी निर्माण गरिएको छ ।

महादेवा गाउँपालिकाको आ.व. २०७४/०७५ मा वडा नं. १ पकरीमा गाउँपालिकाबाट विनियोजन गरेको बजेट २ लाख रकममा मो. फिरियादले आफनो घर नजिक नदी नियन्त्रणको नाममा आएको रकमबाट व्यक्तिगत पोखरी निर्माण गरेको स्थानीय जय नारायण यादवले बताएका छन् ।

यस्तै स्थानीय देव नारायण यादवले पनि खाडो नदी नियन्त्रणको लागि गाउँपालिकाबाट विनियोजन गरेको बजेटमा अनियमितता र भ्रष्टाचार भएको बताए । साथै, वडा नं. १ का वडा सदस्य हरिनारायण यादवको घर अगाडि रहेको चन्द्र्र नहरमा होम पाईप जडान गर्न गाउँपालिकाबाट आएको १ लाख ५० हजार बजेट पनि कामै नगरी अनियमितता र भ्रष्टाचार भएको जय नारायण यादवले बताएका छन् ।

  •  
  •  
  •  
  •  
  •