नेकपा स्थायी कमिटीको निर्णय : एमसीसी संशोधन, परिमार्जन गरी अनुमोदन गर्ने

२६ भदौ ०७७, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज सम्झौता (कम्प्याक्ट)लाई संशोधन र परिमार्जन गरेर अनुमोदन गर्ने निर्णय लिएको छ ।

असार १० गते सुरु भई आज समापन भएको स्थायी समिति बैठकले झलनाथ खनालको नेतृत्वमा गठित कार्यदलको सुझाव प्रतिवेदनलाई समेत ध्यान दिई पार्टीको बैठकमा छलफल गरेर पार्टी छिट्टै निष्कर्ष निकाल्ने निर्णय गरेको हो ।

“एमसीसीको विषयमा आवश्यकताअनुसार संशोधन र परिमार्जन गरेर अनुमोदन गर्ने निर्णय लिएको छ,” स्थायी समितको बैठकपछि नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, “तर, संशोधन र परिमार्जनका बारेमा पार्टीले कमरेड झलनाथ खनालको नेतृत्वमा गठन गरेको कार्य दलको सुझाव प्रतिवेदनलाई समेत ध्यान दिई पार्टीको बैठकमा छलफल गरेर त्यस सम्बन्धमा पार्टी छिट्टै निष्कर्ष निकाल्ने छ । त्यसै आधारमा यो प्रक्रिया अगाडि बढाइने छ ।”

संसदमा विचारधीन एमसीसीका विषयमा बैठक निर्णयमा पुग्न नसकेको हो भन्ने सञ्चारकर्मीको प्रश्नमा प्रवक्ता श्रेष्ठले भने, “निर्णयमा पुग्न नसकेको होइन, व्यवस्थित ढंगले निर्णय गर्ने भन्ने हो ।” तर उनले व्यवस्थित भनेको के भन्ने बारे बताएनन् ।

नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा सम्पन्न स्थायी समिति बैठकले लिएका निर्णयबारे प्रवक्ता श्रेष्ठले सञ्चारकर्मीलाई दिएको जानकारीको सम्पादित अंश !

  • नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा सम्पन्न भयो । र, आजैबाट जारी स्थायी समितिको बैठक समापन भयो ।
  • यस बैठकमा पहिलाको बैठकमा प्रस्तुत गरिएका कार्य सूचीहरुलाई सम्बोधन गर्ने गरी अध्यक्षद्व्रयले निर्णयका निम्ति प्रस्ताव प्रस्तुत गर्नुभयो । उक्त प्रस्ताव सबै स्थायी समिति सदस्यहरुलाई अध्ययनका निमित्त वितरण गरिएको थियो । सो प्रस्तावमाथि १३ जनाले कमरेडहरुले छलफलका क्रममा आफ्ना विचार राख्नु भयो ।
  • जसमा कमरेड रघु पन्त, लिलामणि पोखरेल, भीम आचार्य, माधव कुमार नेपाल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, देव गुरुङ, घनश्याम भुषाल, मातृका यादव, भीम रावल, अमृत बोहरा, झलनाथ खनाल र म आफैँ नारायणकाजी श्रेष्ठले धारणा राखेका थियौं ।
  • ती सुझावहरुमाथि अध्यक्ष कमरेड प्रचण्डले आफ्नो धारणा प्रस्तुत गर्नु भयो । त्यसपछि स्थायी समिति सदस्यहरुबाट आएका लिखित सुझावहरु साथै आज बैठकमा व्यक्त विचारहरुलाई प्रस्तावमा समावेश गर्ने गरी आजको बैठकले प्रस्ताव पारित गरेको छ ।

बैठकले पारित गरेको प्रस्तावका मूल कुरा :

  • पार्टी एकताको ऐतिहासिक महत्वलाई आत्मसात गर्दै पार्टी एकताको रक्षा गर्ने, पार्टीलाई अझ बढी सुदृढ गरेर अघि बढाउने संकल्प बैठकले गरेको छ ।
  • पार्टीलाई विधि र पद्दतिमा संस्थागत ढंगले संचालन गर्ने काममा भएका कमी कमजोरीलाई सच्याउने र अबका दिनमा पार्टीलाई विधि र पद्दतिमा संचालन गर्ने कुरामा दृढतापूर्वक अघि बढ्ने निर्णय गरेको छ । विगतका निर्णयलाई कार्यान्वयनमा लैजाने समेत बैठकले निर्णय गरेको छ ।
  • अध्यक्षको कार्य विभाजनको हकमा, पार्टी अध्यक्ष एवम् सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा केन्द्रीत भएर अगाडि बढ्ने र सरकार संचालन प्रभावकारी ढंगले अघि बढाएर सफल पार्ने कार्यको नेतृत्व गर्ने ।
  • अध्यक्ष प्रचण्डले कार्यकारी अधिकारसहित पार्टी कामको नेतृत्व गर्ने गरी कार्य विभाजन भएको छ ।
  • सरकार पार्टीको मार्ग निर्देशनमा संचालन हुने, दैनिक काममा पार्टीले हस्तक्षेप नगर्ने, आधारभूत महत्वका नीति, राष्ट्रिय महत्वका निर्णयहरु लिनु पर्दा पार्टीको मार्ग निर्देशनलाई केन्द्रमा राखेर निर्णय लिने साथै सचिवालयको सुझाव, दुई अध्यक्षको सहमति र परामर्शमा गर्ने निर्णय गर्ने निर्णय लिएको छ ।
  • सरकारले प्रस्तुत गर्ने विधेयकको सैद्धान्तिक पक्षको बारेमा पार्टीको केन्द्रीय समिति, स्थायी समिति वा सचिवालयमा छलफल गरेर अघि बढ्ने निर्णय गरेको छ ।

पार्टीको महाधिवेशन चैत्र २५ देखि ३० सम्म

  • यस्तै पार्टीको महाधिवेशन चैत्र २५ देखि ३० सम्म काठमाडौंमा आयोजना हुने निर्णय गरेको छ ।
  • त्यसको तयारी सम्बन्धित कामहरुलाई अघि बढाउन कार्तिक १५ देखि १७ सम्म केन्द्रीय समितिको बैठक बस्ने निर्णय गरेको छ ।

सरकार, सबै पार्टी, बुद्धिजीवी, नागरिक समाज साथै सांसदलाई धन्यवाद

  • नेपाल र भारतको बीचमा भएको सीमा समस्यालाई लिम्पियाधुरा, लिपुलेक, कालापानीको अतिक्रमित भूभागमा नेपालको हकभोग स्थापित गर्ने गरी र नेपाली भूमिका रहेका विदेशी सुरक्षाकर्मीलाई फिर्ता पठाउने गरी सरकारले अगाडि बढाएको प्रस्तावअनुसार नयाँ नक्सा सार्वजनिक भयो र संविधान संशोधन भयो । त्यसका निम्ति सरकारलाई, सबै पार्टी, बुद्धिजीवी, नागरिक समाज साथै सांसदहरुलाई धन्यवाद व्यक्तको छ ।
  • अब भारतसँग राजनीतिक तथा कुटनीतिक वार्ताद्वारा नै समस्याको नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको हल निकाल्न आवश्यक रहेको निष्कर्ष पार्टीले निकालेको छ । सरकारले त्यस दिशामा गरेको पहलकदमीलाई अझ प्रभावकारीरुपमा अघि बढाउने अपेक्षा गरेको छ । सरकारले अहिलेसम्म गरेका कामको उच्च मूल्याङ्कन गरेको छ ।

स्वास्थकर्मीका आवश्यकतालाई सम्बोधन गर्ने

  • सरकारले  कोभिड–१९ का विषयमा जुन नीति, योजना र कार्यक्रमहरु साथै निर्णयहरु गरेको छ, अघि बढाएको छ । त्यसलाई सकारात्मक रुपमा लिँदै प्रभावकारी नियन्त्रणका लागि राष्ट्रिय एकताका साथ अघि बढ्ने निर्णय पनि गरेको छ ।
  • फ्रन्ट लाइनमा खटिरहेका स्वास्थकर्मीहरुका आवश्यकताका विषयलाई सम्बोधन गर्ने निष्कर्ष पनि निकालेको छ ।

एमसीसी संशोधन र परिमार्जन गरेर अनुमोदन

  • एमसीसीको हकमा, यसलाई आवश्यकताअनुसार संशोधन र परिमार्जन गरेर अनुमोदन गर्ने निर्णय लिएको छ । तर, संशोधन र परिमार्जनका बारेमा पार्टीले कमरेड झलनाथ खनालको नेतृत्वमा गठन गरेको कार्यदलको सुझाव, प्रतिवेदनलाई समेत ध्यान दिई पार्टीको बैठकमा छलफल गरेर त्यस सम्बन्धमा पार्टीले छिट्टै निष्कर्ष निकाल्ने छ । त्यसै आधारमा यो प्रक्रिया अगाडि बढाइने छ ।

पार्टी विभाजन गराउन लागेका शक्तिलाई सटिक जवाफ

  • पार्टी अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले प्रारम्भमै सम्बोधन गर्नु भयो । यस बैठकले पार्टीभित्रको समस्यालाई समाधान दिएको, नयाँ उचाईमा एकता हुने विश्वास राख्नुभएको थियो । र, देशी तथा विदेशी शक्ति पार्टी एकतालाई कमजोर बनाउन र टुटफुट विभाजन गर्न गराउन लागेका थिए, त्यसलाई असफल गराउन र यस बैठकको समापनसँगै सटिक जवाफ दिइएको बताउनु भएको थियो ।
  • यस्तै अध्यक्ष प्रचण्डले समापनका क्रममा पार्टीलाई रक्षा गरेर, दुर्घटनाबाट बचाएर विचारको बहस गर्दै पार्टीलाई बैचारिकरुपमा रुपान्तरण गर्ने, पार्टीलाई सांगठनिक रुपमा पनि रुपान्तरण गरेर पार्टी एकताको उद्देश्यलाई पुरा गर्ने अर्थमा बैठक सफल भएको बताउनु भएको थियो ।
  •  
  •  
  •  
  •  
  •