नेपालको अद्यावधिक नक्सासहित सिक्का निष्कासन गर्न राष्ट्र बैङ्कलाई स्वीकृति

३१ भदौ ०७७, काठमाडौं । सरकारले नेपालको अद्यावधिक नक्सासहित एक र दुई रुपियाँका सिक्का निष्कासन गर्न राष्ट्र बैङ्कलाई स्वीकृति दिइएको छ ।

नेपाल सरकारका प्रवक्ता एवम् परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले मंगलबार मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै नयाँ नक्सासहित एक र दुई रुपियाँका सिक्का निष्कासन गर्न राष्ट्र बैङ्कलाई स्वीकृति दिइएको बताएका हुन् ।

यस्तै मन्त्रिपरिषद् बैठकले भदौ २५ गतेलाई एसिड प्रहार विरुद्धको जागरण दिवसका रूपमा मनाउने निर्णय गरेको पनि उनले बताए ।

यसैगरी सरकारले बाढीपहिरोमा परेर ज्यान गुमाउनेका परिवारलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको भन्दै प्रवक्ता ज्ञवालीले परिवारमा एक सदस्यको मृत्यु भएमा दुई लाख रुपैयाँ र परिवारका अन्य थप सदस्यको मृत्यु भए एक लाखका दरले थप सहयोग गर्ने निर्णय गरिएको बताए ।

यस्तै बाढीपहिरोका कारण स्थानान्तरण हुने परिवारलाई एक लाख रुपैयाँका दरले सहयोग गर्ने साथै उपचार तथा यातायात खर्च सरकारले उपलब्ध गराउने निर्णय भएको उनले जानकारी दिए ।

  •  
  •  
  •  
  •  
  •