भोलिदेखि आन्तरिक उडान साथै सार्वजनिक यातायात सञ्चालन हुने

३१ भदौ ०७७, काठमाडौं । सरकारले भोलि बिहीबारदेखि आन्तरिक हवाई उडान तथा सार्वजनिक यातायात सुचारु गर्ने निर्णय गरेको छ ।

परराष्ट्र मन्त्री एवम् नेपाल सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले मंगलबार सरकारको निर्णय सार्वजनिक गर्दै गत चैत ११ गतेदेखि बन्द रहेको आन्तरिक हवाई उडानका साथै सार्वजनिक यातायात असोज १ (भोलि/बिहबिार) देखि खुल्ने बताएका हुन् ।

असोज १ गतेबाट सार्वजनिक तथा आन्तरिक हवाई यातायात, होटल, रेस्टुरेन्ट, ट्राभल एजेन्सी खुलेसँगै कोरोना संक्रमण जोखिम बढ्न सक्ने भन्दै प्रवक्ता ज्ञवालीले भौतिक दूरी कायम गर्न र स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्नु पर्नेमा जोड दिएका थिए ।

उनले लामो, मध्यम तथा छोटो दूरीका यातायात सञ्चालन गर्दा व्यवसायीले साविक भाडादरमा ५० प्रतिशतसम्म थप भाडा लिन सक्ने बताए ।

हवाई भाडाका सम्बन्धमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले निर्धारण गर्ने जानकारी दिए ।

यस्तै हिमाल आरोहण तथा पदयात्रा कात्तिक १ गतेदेखि खुला हुने जानकारी दिँदै उनले अन्तर्राष्ट्रिय सीमा नाकाको आवागमन भने असोज ३० गते मध्यरातसम्म थप गरिएको बताए । तर, नेपाल–भारत सीमा क्षेत्रका १० वटा नाकाबाट मात्र आवतजावतको अनुमति दिइएकोमा थप दुई नाका (इलाम र दार्चुला)का नाका खुला गरिएको छ ।

उनले मन्त्रिपरिषद बैठकले शिक्षण संस्था, सामूहिक भेला, गोष्ठी, सभा, सम्मेलन, पार्टी प्यालेस, स्विमिङ पुल, खेल प्रशिक्षण, खेल गतिविधि, सैलुन, ब्युटीपार्लर, स्पा, चिडियाखाना, सङ्ग्रहालय, परीक्षा लगायत जनसमूह भेला हुने कार्यमाथि लगाउँदै आएको रोकमा निरन्तरता दिएको जानकारी दिएका छन् । तर, दूरशिक्षा तथा अनलाइन शिक्षा सिकाइ कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेको बताए ।

सरकारले नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको रिक्त दरबन्दीका लागि नयाँ भर्ना खुला गर्ने निर्णय गरेको पनि पत्रकार सम्मेलनमा प्रवक्ता ज्ञवालीले जानकारी दिए ।

 

  •  
  •  
  •  
  •  
  •