गएको चौबीस घण्टामा एक हजार २०४ जनामा कोरोना पुष्टि, ११ संक्रमितको निधन

३ असोज ०७७, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गएको चौबीस घण्टामा एक हजार २०४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्राडा जागेश्वर गौतमले गएको चौबीस घण्टामा एक हजार २०४ जनामा नयाँ कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । योसँगै कूल संक्रमितको संख्या ६२ हजार ७९७ पुगेको छ ।

यस्तै हाल आइसोलेसनमा १७ हजार १२९ जना र क्वारेन्टाइनमा ७ हजार ७३५ जना रहेको बताए ।

प्रवक्ता गौतमले कोरोना संक्रमणबाट गएको चौबीस घण्टामा १४४७ जना निको भएर घर फर्किएको साथै हालसम्म निको हुनेको कूल संख्या ४५ हजार २६७ पुगेको जानकारी दिए ।

यस्तै उनले थप ११ जना कोरोना संक्रमितको निधन भएको बताएका छन् । योसँगै नेपालमा कोरोनाबाट निधन हुनेहरुको संख्या ४०१ पुगेको छ ।

  •  
  •  
  •  
  •  
  •