विद्युत् अनियमित हुँदा पढाइमा असर : निमित्त कार्यकारी निर्देशकलाई गम्भीर हुन ऊर्जामन्त्रीको निर्देशन

९ असोज ०७७, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले विद्युत् प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइरालालाई विद्युत् अनियमित हुँदा विद्यार्थीको अनलाइन पढाइमा प्रतिकूल असर पर्न सक्ने भन्दै गम्भीर हुनु निर्देशन दिएका छन् ।

ऊर्जामन्त्री पुनले प्राधिकरणका निमित्त कार्यकारी निर्देशक कोइरालासहितका उपकार्यकारी निर्देशकलाई मन्त्रालयमै बोलाएर सो दिएको निर्देशनका हुन् ।

ऊर्जा मन्त्रीको सचिवालयकाअनुसार मन्त्री पुनले कोभिड–१९ का कारण विद्यालय र विश्वविद्यालयको पठनपाठन अनलाइन कक्षामार्फत भइरहेकाले विद्युत् अनियमित हुँदा विद्यार्थीको पढाइमा थप प्रतिकूल असर पर्न सक्नेतर्फ गम्भीर हुन निर्देशन दिएका छन् ।

निमित्त कार्यकारी निर्देशक कोइरालाले खराब मौसमका कारण समस्या आएको भन्दै मौसममा सुधार आएसँगै धेरै हदसम्म समस्या आफैँ समाधान भएर जाने बताएका थिए ।

प्राधिकरणका कर्मचारीले रातदिन नभनी समस्या हटाउँदै विद्युत् सुचारु गरिरहेको भन्दै कोइरालाले वर्षा, बाढीपहिरो, चट्याङ, रुख ढल्नेजस्ता कारणले केही दिनयता प्रणालीमा समस्या आएको समेत बताएका थिए ।

यस्तै मन्त्री पुनले प्राधिकरणमा निवर्तमान कार्यकारी निर्देशकसँगै बसेर राम्रो काम गरेको टिममाथि नै प्रश्न उठाएकाले ती प्रश्नका जवाफ कार्यसम्पादनबाटै दिनुपर्ने निर्देशन दिएका थिए ।

उनले निमित्त कार्यकारी निर्देशक कोइरालालाई पूर्ण अधिकार प्रयोग गरी काम गर्न भन्दै कुनै समस्या आए तत्काल आफूलाई जानकारी दिन पनि भनेका छन् ।

  •  
  •  
  •  
  •  
  •