कोभिड-१९ उपचार सेवा वापतको सम्पूर्ण खर्च नेपाल सरकारले व्यहोर्ने

९ कार्तिक ०७७, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कतिपय अस्पतालले कोभिड–१९ का बिरामीलाई अस्पतालमा भर्ना रकम माग गरेको र रकम अभावमा उपचार गर्न नपाएको सम्बन्धमा मन्त्रालयको ध्यान आर्कषण भएको जनाएको छ ।

यस सम्बन्धमा मन्त्रालयले आइतबार एक विज्ञप्तिमार्फत् गरीब, विपन्न र अशक्त, असहाय र ज्येष्ठ नागरिकको उपचार नेपाल सरकारले निःशुल्क गर्ने र सो उपचार वापतको खर्च सरकारले व्यहोर्ने स्पष्ट पारेको छ ।

“गरीब, विपन्न, अशक्त, असहाय, ज्येष्ठ नागरिकहरुको उपचार नेपाल सरकारले निःशुल्क गर्ने र सोका लागि बिरामीहरुका तर्फबाट स्वयं घोषणा भए मात्र पनि मान्य हुने र सो उपचार सेवा वापतको सम्पूर्ण खर्च नेपाल सरकारले व्यहोर्ने बारेको सूचना सबैको जानकारीका लागि सार्वजनिक भएकै छ,” मन्त्रालयका आसीएस कोअर्डिनेटर डा.गुणराज लोहनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, “यस विपरीत कार्य गर्ने गराउने गरी बिरामीको स्वास्थ्यमा असर पर्न गएमा स्वयं अस्पताल नै जिम्मेवार हुने व्यहोरा समेत जानकारी गराइन्छ ।”

विज्ञप्तिमाा कुनै पनि बिरामीहरु उपचार खर्चको अभावमा उपचारबाट बञ्चित गर्न अस्पताल सेवाको मर्म स्वास्थ्यकर्मीको आचारसंहिता विपरीत हुने स्मरण गराइएको छ ।

  •  
  •  
  •  
  •  
  •