यतिबेला पार्टी एकता गंभीर संकटको मोडमा आइपुगेको छ – विष्णु पौडेल

१६ कार्तिक ०७७, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले एमाले र माओवादी बीच भएको पार्टी एकता गम्भीर संकटमा पुगेको बताएका छन् ।

‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकाँक्षा पूरा गर्दै समाजवादतर्फ अघि बढ्ने उद्देश्यका साथ एकता भई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन भएको भन्दै अर्थमन्त्री समेत रहेका महासचिव पौडेलले आइतबार सामाजिक सञ्जालमार्फत् यतिबेला पार्टी एकता गंभीर संकटको मोडमा आइपुगेको बताएका हुन् ।

“राजनीतिक स्थायीत्व सुनिश्चित गर्ने, संविधानको प्रभावकारी कार्यान्वयन गर्ने र ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकाँक्षा पूरा गर्दै समाजवादतर्फ अघि बढ्ने उद्देश्यका साथ नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकता सम्पन्न भई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन भएको थियो,” उनले लेखेका छन्, “पार्टी एकता सम्पन्न भएसँगै हाम्रो सामु दुई वर्षभित्र महाधिवेशन आयोजना गर्ने र सुदृढ एकताका साथ अघि बढ्ने जिम्मेवारी उपस्थित थियो । तर, आजसम्म आईपुग्दा पनि पार्टी एकताको बाँकी काम पूरा हुन नसकेको मात्र होइन, पार्टीको एकीकृत तथा अविभाज्य अस्तित्वमाथि समेत बारम्बार प्रश्न उठेको छ । यतिबेला पार्टी एकता गंभीर संकटको मोडमा आइपुगेको छ ।”

आगामी चैतमा एकता महाधिवेशन गर्ने निर्णय लिएको नेकपाले कार्तिक १५ बस्ने केन्द्रीय समिति बैठक मंसिर १५ देखि बस्ने विज्ञप्तिमार्फत् सार्वजनिक गरेको केही दिनमै महासचिवको यस्तो भनाइ सार्वजनिक हुनु साथै अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्ड बीच राम्रोसँग संवाद नहुनुलाई कार्यकर्ताले अर्थपूर्ण रुपमा हेरेका छन् ।

नेकपाका एक स्थायी समिति सदस्यका अनुसार सरकारले पार्टी निर्णय विपरीत निर्णयहरु लिन थालेपछि दुई अध्यक्षबीच संवादले गति लिन सकेको छैन् ।

  •  
  •  
  •  
  •  
  •