देशको नाम ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ राख्ने सोच राखेका हुन्थ्यौं भने संविधानमै राख्थ्यौं – परराष्ट्र मन्त्री ज्ञवाली

२४ कार्तिक ०७७, काठमाडौं । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले देशको नाममा विशेषण जोडनुपर्ने भए संविधान संशोधन गर्नुपर्ने बताएका छन् ।

संविधानतः नेपाल “संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल” रहेको भन्दै सत्तारुढ दलकै नेताहरुले हालै सरकारले गरेको पत्राचारविरुद्ध आवाज आइरहेको बेला मन्त्री ज्ञवालीले सोमबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा यस्तो बताएका हुन् ।

नेपाल सरकार मन्त्रिपरिषद्को २०७७/०६/११ को बैठकले नेपालको औपचारिक नाममा एकरुपता कायम गर्ने भन्दै निर्णय कार्यान्वयन गर्न गराउन कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले २०७७/०६/२८ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई लेखेको पत्रमा “विभिन्न कुटनीतिक नियोगबाट हुने पत्राचार र कतिपय सरकारी लिखतहरुमा नेपालको औपचारिक नाम नेपालीमा “संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल” र अंग्रेजीमा “Federal Democratic Republic of Nepal” लेख्ने गरिएकोमा अब उप्रान्त नेपालको औपचारिक नाम नेपालीमा ‘नेपाल’ र अंग्रेजीमा ‘Nepal’ लेख्ने ।” उल्लेख गरिएको थियो ।

यस्तै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कानुन मन्त्रालयको पत्र र मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्न भन्दै यही कार्तिक ५ गते ७५३ वटै स्थानीय तहहरुलाई पत्राचार गरेको थियो ।

यस विषयमा नेकपाकै नेताहरु साथै सचेत नागरिकहरुले विभिन्न सञ्चार माध्यममार्फत् आपत्ति जनाइरहेको बेला परराष्ट्र मन्त्री ज्ञवालीले देशको नाम “संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल” लेख्ने भए संविधान संशोधन गर्नुपर्ने बताएका हुन् ।

बैठकमा मन्त्री ज्ञवालीले अहिलेको संविधानमा नेपालको नाम नेपाल भनिएको हुनाले प्रशासनिक हिसाबले पत्राचार गर्ने काममा नेपाल भनेर लेख्ने निर्णय सरकारले गरेको स्पष्ट पारेका थिए ।

“संविधान संशोधन गरेर नेपालको नाम नै संघीय लोकतान्त्रिक गणतन्त्र राखौं भन्दा छलफल गर्न नसकिने होइन,” बैठकमा मन्त्री ज्ञवालीले भने, “तर अहिले त हामीले संविधानमा जे व्यवस्था छ, नेपालको नाम ‘नेपाल’ भएको हुनाले आधिकारिक पत्राचार नेपाल भनेर गर्ने यतिमात्रै विषय नेपाल सरकारको निर्णयको सार हो ।”

मुलुकले स्थापित गरेको शासन प्रणालीलाई बदल्ने अथवा कायम राख्ने भने कुरासँग बहस गर्न जरुरी नरहेको भन्दै मन्त्री ज्ञवालीले देशको नाम “संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल” राख्ने भन्ने सोच भएको भए संविधान निर्माण गर्दा नै उल्लेख भइसकेको हुने बताए ।

“यसलाई जवरजस्ती जोड्ने गल्ती नगरौं । त्यो गर्न जरुरी छैन् । हामीले ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नाम राख्ने भनेर सोच राखेका हुन्थ्यौं भने हाम्रो यो संविधानमै राख्थ्यौं नि !” उनले भने, “यहाँ हामीले नेपालको संविधान लेख्यौं ।”

  •  
  •  
  •  
  •  
  •