नेकपा फुट्ने कि जुट्ने नेता कार्यकर्ताको हातमा छ- योगेश भट्टराई

४ मंसिर ०७७, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सरकार पुनर्गठन गर्दा पार्टीभित्रको विवाद अन्त्य हुने अवस्था आए आफूले राजीनामा दिन तयार रहेको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्यसमेत रहेका मन्त्री भट्टराईले नेकपा पर्साको पार्टी कार्यालय वीरगञ्जमा नेता कार्यकर्ताहरुसँगको भेटमा पार्टीलाई एक ढिक्का राख्न आफू मन्त्री पद छाड्न तयार रहेको बताएका हुन् ।

“आज पर्यटन मन्त्री छु, पार्टी एक हुनका लागि सरकार पुनर्गठन गर्नुपर्ने भो, मन्त्री पद छोडिदिनुस् भन्नुहुन्छ भने राजीनामा दिउँला” उनले भने ‘के गर्दा पार्टी एकता बलियो हुन्छ त्यही गरौंला ।”

नेता कार्यकर्ताको हातमा नै पार्टीको भविष्य रहेको भन्दै उनले पार्टीभित्रको अन्तर्विरोधका बेला कसैलाई साथ नदिएर कार्यकर्ताले दबाब सिर्जना गर्नुपर्ने बताए ।

उनले भने, “हिमालपारीको खुसामदले जोडिने वा मैदान पारीको सक्रियताले टुट्ने पार्टी होइन; फुट्ने कि जुट्ने नेकपाको नेता कार्यकर्ताको हातमा छ ।”

  •  
  •  
  •  
  •  
  •