कामचलाउ प्रधानमन्त्रीको कामचलाउ मन्त्री, कामचलाउ नियुक्ति : कस्तो संस्कृति ? – वर्षमान पुन

२७ पुस ०७७, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य तथा पूर्व उर्जामन्त्री वर्षमान पुन ‘अनन्त’ले कामचलाउ सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई सोभियत मिखाइल सेर्गेयेभिक गोर्भाचोभको संज्ञा दिएका छन् ।

आइतबार महासंघको केन्द्रीय कार्यालय पेरिसडाँडामा अखिल नेपाल यातायात मजदुर संघको उपत्यकास्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा नेकपाका नेता अनन्तले प्रधानमन्त्री ओलीको विचलित मानसिकताको उपज प्रतिनिधि सभा विघटन भएको बताउँदै यस्तो बताएका हुन् ।

“कम्युनिष्ट पार्टी र क्रान्तिकारी आन्दोलनमा केही विचलनकारी, पलायनवादी मान्छेहरु देखिएका छन् । जो खड्ग ओली गुटकोरुपमा देखा परेको छ । यो कम्युनिष्ट आन्दोलनबाट विचलित समूह हो,” अनन्तले भने, “प्रतिनिधिसभा विघटन असंवैधानिक हो । अलोकतान्त्रिक हो । केपी ओली आफ्नो आयू आफैँ घोषणा गरेका छन् । बैशाख १७ र २७ गते निर्वाचन घोषणा गरेका छन् । उनको आयू बैशाख भन्दा उता छैन् ।”

ओली गुटका तर्फबाट विभिन्न आश्वासन र भ्रम दिने कामहरु भइरहेका भन्दै उनले केही मान्छेहरु विचार र सिद्धान्तबाट विचलित भएर चारमहिने मन्त्री खान गइरहेको पनि बताए ।

प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेता पुनले भने, “आयू सकिएको कामचलाउ प्रधानमन्त्रीको कामचलाउ मन्त्रीको रुपमा आज केही साथीहरु मन्त्री खान दौडिरहेको देखिरहेका छौं । मान्छेहरु काम चलाउमन्त्रीको पनि कामचलाउ नियुक्ति खान दौडिरहेका छन् । कस्तो स्वाभिमान ? कस्तो संस्कृति ? यही हो साम्राज्यवादले, विदेशी पूँजीले पैदा गरेको दलाल तथा नोकरशाह पूँजीवाद, दलाल, बिचौलिया प्रवृत्ति, उपभोक्तावादी संस्कृति । जे पाउँछ खाने, जे पाउँछ लाउने । जायज र नाजायज, सही र गलत केही हुँदैन् ।”

उनले श्रम गरेर आर्जन गर्ने स्वरोजगार श्रमिक साथै आफनो सानो पूँजी लगानी गरी गरिखाउँ भनेर लागेका मजदुरहरुमा स्वाभिमान हुने भन्दै त्यो संस्कृति आफूले यातायात श्रमिकहरुमा पाएको र यही नै प्रगतिशील, क्रान्तिकारी वर्ग रहेको पनि बताए ।

“श्रम लगाएर आर्जन गर्ने, साथीहरु, स्वरोजगार श्रमिक साथीहरु, आफनो सानो पूँजी लगाएर केही गरिखाउँ भनेर लागेका साथीहरु तपाईंहरु आफ्नो परिवार पसिनाबाट पालिरहनुभएको छ,” नेता पुनले भने, “स्वाभिमान बचाएर काम गर्नुभएको छ वास्तवमा यही नै प्रगतिशील, क्रान्तिकारी वर्ग हो ।”

 

  •  
  •  
  •  
  •  
  •