प्रतिनिधिसभा विघटनविरुद्ध राजधानीमा नेकपाको विशाल जनप्रदर्शन तथा विरोध सभा

९ माघ ०७७, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रतिनिधिसभा विघटनको असंवैधानिक कदमका विरुद्ध आज राजधानीमा विशाल जनप्रदर्शन तथा विरोध सभा कार्यक्रम सम्पन्न गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते संसद विघटन गरेपछि उक्त कदमलाई संवैधानिक ‘कू’ भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय संघर्ष समितिको आयोजना र नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपालको नेतृत्वमा शुक्रबार राजधानीमा विशाल जनप्रदर्शन तथा विरोध सभा कार्यक्रम सम्पन्न भएको हो ।

नेकपाका अध्यक्ष प्रचण्डले प्रतिनिधिसभा विघटनको असंवैधानिक कदमका विरुद्ध आयोजित “विरोध सभा”लाई सम्बोधन गर्दै केपी ओलीले फट्याई र जालझेल गरेको बताए ।

“कालिबहादुर खाम खोई अरे ? उसको मुद्दा ठिक ढंगले हल होस् भन्नका लागि दश, एघार वर्षदेखि लगातार लागेको छु । परेको साह्रो गाह्रो हेर्न मैले लगातार बल गरेको छु,” कालिबहादुर खामको प्रसंग निकाल्दै ओलीलाई व्यंग्य गर्दै अध्यक्ष प्रचण्डले भने, “सरकारलाई मैले पटकपटक घाइते अपांगको उपचार हुनुप-यो । तर, मैले धरैचोटी भन्दा कहीँ कतै टेडपुच्छर लाइएन, उल्टो मासिक भत्ता खोसियो, घाइतेको उपचार गर्ने कुरालाई पूरै वेवास्ता गरियो । पार्टी विभाजन र आफू अल्पमतमा परेपछि म सुन्छु घाइते अपांगलाई हेर्नुपर्दैन भन्ने यही केपी । फट्याई गर्न पनि कति सकेको ? जालझेल गर्न नि कस्तो दिमाग हो ?”

यस्तै जनतासँग गरेको वाचाअनुसार काम गर्न नसकेको बताउँदै उनले भने, “जनतासमक्ष गरिएको वाचा पूरा गर्न सकिएन, म तपाईहरु समक्ष आत्मालोचित हुन चाहन्छु । हामीले संघर्ष नगरेको होइन, तर हाम्रो संघर्षले मात्र काम भएन, त्यसैले फेरि गुहार भन्न आएका छौं ।”

अर्का अध्यक्ष माधवकुमार नेपालले संविधानविरोधी सरकारी कदमका विरुद्धमा आफूहरु सडकमा ओर्लेको बताउँदै प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको विघटन गरेर असंवैधानिक कदम भन्दामाथि संवैधानिक ‘कु’ गरेको आरोप लगाए ।

यस्तै नेकपाका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी ओलीले प्रतिगामी कदम चालेकाले त्यसको विरुद्धमा क्रान्तिको उपलब्धि जोगाउन आफूहरु सडक आन्दोलनमा उत्रेको बताउँदै ओली पार्टीबाट भागेर ‘भगौडा’ बनेको बताए ।

यस्तै नेता खनालले सर्वोच्च अदालतले विघटित प्रतिनिधिसभा पुनस्र्थापना गरिछाड्ने दाबी समेत गरे ।

यसैगरी नेता घनश्याम भुषालले प्रतिगामी कदम नसच्चिएसम्म आन्दोलनले विश्राम नलिने बताए ।

  •  
  •  
  •  
  •  
  •