भोलि एकैसमयमा काठमाडौंका ११ अस्पतालमा कोभिड –१९ विरुद्धको खोप लगाइँदै

१३ माघ ०७७, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि बिहान १० बजे एकै समयमा काठमाडौंका ११ वटा अस्पतालमा कोभिड –१९ विरुद्धको खोप अभियान सुरु गर्दैछन् ।

जसमा यस अभियान अन्तर्गत एकैपटक शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, वीर अस्पताल, आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र अस्पताल कीर्तिपुर, पाटन अस्पताल, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, त्रिवि शिक्षण अस्पताल, भक्तपुर अस्पताल, शहीद धर्मभक्त अंग प्रत्यारोपण केन्द्र, काठमाडौं मेडिकल कलेज जोरपाटी, सशस्त्र प्रहरी अस्पताल बलम्बु, शहीद गंगालाल अस्पतालका स्वास्थ्यकर्मीले खोप लगाउने छन् ।

स्वास्थ्य मन्त्रालयका कोभिड –१९ विरुद्धको इन्सिडेन्ट कमाण्ड सिस्टमका प्रमुख डा.गुणराज लोहनीकाअनुसार अस्पतालले कसलाई पहिलो खोप लगाएर खोप ‘शुभारम्भ’ गर्ने भन्नेमा अस्पताल स्वतन्त्र रहेको बताए ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले अस्पतालको तर्फबाट पहिलो खोप लगाउने उद्घोष गरेका छन् ।

स्वास्थ्य सेवा विभागले पहिलो चरणमा यो खोप अग्रपंक्तिमा खटिने ४ लाख ३० हजार जनाले खोप लगाउन पाउने जनाएको छ ।

यद्यपि, खोप लगाएपछि स्वास्थ्यमा कुनै गम्भीर समस्या देखिए, अंगभंग भए वा निधन भए पनि खोप दिने निकाय वा संस्थाले कुनैपनि किसिमको क्षतिपूर्ति नदिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

तर, खोप ऐनको २०७२ को दफा २८ मा उपचार तथा क्षतिपूर्तिसम्बन्धी व्यवस्था छ । जसमा भनिएको छ, “कुनै खोप लगाएकै कारणबाट खोप लिएको व्यक्तिको स्वास्थ्यमा गम्भीर असर परेको कुरा अनुसन्धान समितिले ठहर गरेमा सो खोप जुन निकाय वा संस्थाबाट दिइएको हो सो निकाय वा संस्थाले त्यस्तो व्यक्तिको उपचार गरी क्षतिपूर्तिसमेत दिनुपर्नेछ । कुनै खोप लगाएकै कारणबाट कुनै व्यक्तिको अंग भंग भई गम्भीर प्रकारको शारीरिक क्षति पुगेको वा निजको मृत्यु भएको कुरा अनुसन्धान समितिले ठहर गरेमा समितिले अंग भंग भएकोमा निज स्वयंलाई र मृत्यु भएकोमा निजको नजिकको हकवालालाई त्यस्तो खोप दिने निकाय वा संस्थाबाट क्षतिपूर्ति उपलब्ध गराइदिनुपर्नेछ ।”

  •  
  •  
  •  
  •  
  •