ट्रेड युनियनको चेतावनी : मजदुरको पुनर्वहाली नभए जगदम्बा मोटर्सको ढुवानीमा समेत अवरोध

९ फागुन ०७७, काठमाडौं । अखिल नेपाल अटोमोवाइल्स मजदुर संघले आइतबार काठमाडौं र ललितपुरस्थित जगदम्बा मोटर्सको पीडीआई र स्पेयर्स गोदाममा तालाबन्दीसहित धर्ना कार्यक्रम गरेको छ ।

जगदम्बा मोटर्सको एसजी इन्जीनियरिङ प्रा.लि. अन्तर्गत टिभिएसमा कार्यरत २० जना श्रमिकहरुलाई व्यवस्थापनले विनाकारण निश्कासन गरेपछि आन्दोलित श्रमिकहरुले संघर्षको चरणवद्ध कार्यक्रम अन्तर्गत आज काडमाडौंको जडिबुटी र ललितपुरको बालकुमारीमा रहेको पीडीआई र स्पेयर्स गोदाममा तालाबन्दी गरेको हो ।

प्रहरी हस्तक्षेपका बीच अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय पदाधिकारीसहित पेशागत संगठनका नेतृत्वको उपस्थितिमा सम्बन्धित प्रतिष्ठानका निश्कासित श्रमिकहरुले जगदम्बा मोटर्सको पीडीआई र स्पेयर्स गोदाममा तालाबन्दीसहित धर्ना कार्यक्रम सम्पन्न गरेको हो ।

निश्कासित मजदुरहरुले आफूहरु ट्रेड युनियनमा संगठित भएकै कारण व्यवस्थापनले निश्कासन गरेको भन्दै निशर्त पुनर्वहाली गर्नुपर्ने साथै विद्यमान कानुनको पालना गर्दै योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचीकृत गर्नुपर्ने माग गरेका छन् ।

तालाबन्दी साथै धर्ना कार्यक्रममा ऐक्यवद्धता जनाउन पुगेका महासंघका पदाधिकारी साथै पेशागत संगठनका नेताहरुले निश्कासित २० जना मजदुरहरुको बिनाशर्त पुनर्वहाली नगरिए जगदम्बा मोटर्सका देशभरका प्रतिष्ठानबाट हुने सबैखाले खरिद-विक्री तथा ढुवानी कार्यमा समेत पूर्णरुपमा अवरोध गर्ने चेतावनी दिएका छन् ।

जडिबुटीस्थित गोदाममा तालाबन्दीपछि आयोजित कोण सभामा बोल्दै अन्टुफ कोषाध्यक्ष घनश्याम ठकुरीले भने, “आज हामीले सांकेतिक रुपमा पिडिआई र स्पेयर्स गोदाममा तालाबन्दी गरेका छौं, यदि मजदुरलाई दमन गरेर उद्योगधन्दा सञ्चालन गर्ने सोचेका छौ भने तिम्रो त्यो दुस्वप्न हुनेछ । तिम्रो गोदाम तालाबन्दी मात्रै होइन हामीले काठमाडौं आउने तिम्रा ढुवानीका साधनहरु सडकमै रोक्न नपरोस् भन्ने चेतावनी पनि दिन चाहन्छौं ।”

  •  
  •  
  •  
  •  
  •