प्रतिगमन, महिला हत्या, हिंसा र बलात्कारविरुद्ध अनेमसंघको विरोध प्रदर्शन

९ फागुन ०७७, काठमाडौं । अखिल नेपाल महिला संघ (अनेमसंघ)ले प्रतिनिधिसभा विघटनको असंवैधानिक कदमको विरोध गर्दै महिला हत्या, हिंसा र बलात्कारविरुद्ध विरोध प्रदर्शन गरेको छ ।

आइतबार अखिल नेपाल महिला संघ केन्द्रीय संघर्ष समितिले प्रतिगमनको विरोध गर्दै महिला हत्या, हिंसा र बलात्कारीलाई कारवाहीको माग गर्दै विरोध प्रदर्शन गरेको हो ।

नेकपा प्रचण्ड–माधव समूहको अखिल नेपाल महिला संघ केन्द्रीय संघर्ष समितिले आयोजना गरेको विरोध प्रदर्शन शान्तिबाटिकामा भेला भएर पुरानो बसपार्क, भद्रकाली, सुन्धारा हुँदै बसन्तपुर पुगेर विरोधसभामा परिणत भएको थियो ।

विरोध प्रर्दशनमा सहभागीहरुले ‘प्रतिनिधिसभा विघटनको असंवैधानिक कदम खारेज गर, अवैधानिक नियुक्ति र निर्णयहरु खारेज गर, भागिरथी लगायत बलात्कार गरी हत्या गर्ने अपराधीलाई कारबाही गर, भ्रष्टाचारीलाई कारवाही गर’ लगायतका नारावाजी गरेका थिए ।

विरोध प्रदर्शन तथा सभामा नेकपा प्रचण्ड–माधव समूहको महिला संगठनका नेतृ अमृता थापा, अष्टलक्ष्मी शाक्य, शशी श्रेष्ठ लगायत विभिन्न जिल्लास्थित महिला संगठन र अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय पदाधिकारी महिला नेतृहरू, महिला विभागका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।

  •  
  •  
  •  
  •  
  •