२ माघ ०७८, काठमाडौं । धर्मशाला भाडामा लिएर महँगो होटल चलाएको भन्दै आलोचना भएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले पशुपति धर्मशालाको निरीक्षण गर्न पुगेका छन् ।
बतास अर्गनाइजेशनबाट सञ्चालित निरीक्षणपछि मन्त्री आलेले सत्यतथ्य बुझेर आवश्यक निर्णय लिइने बताएका छन् ।
बतास समूहले पशुपति क्षेत्र विकास कोषसँग मिलेमतो गरेर १९ रोपनी जग्गा र त्यसमा फैलिएको ३४ करोड लागतको ८८ कोठे धर्मशाला होटल भाडामा लिएको छ ।
पशुपतिनाथ दर्शन गर्न आउने तीर्थयात्रीहरुलाई खान र बस्न सहज होस् भनेर पाशुपत क्षेत्र (तिलगंगा)मा धर्मशाला बनाइएको छ ।
भारत सरकारको सहयोगमा बनेको ‘नेपाल–भारत मैत्री धर्मशाला’मा अहिले बतास समूहले ‘होटल आनन्द’ चलाइरहेको छ, जहाँ बस्नेले खानाबाहेक एउटा कोठाको करीब ७ हजार रुपैयाँसम्म तिर्नुपर्छ ।